झापा । झापाको समग्र इतिहास समेटिएको त्यो झापा : औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक आगामी भदौ दोस्रो सातादेखि बजारमा आउने भएको छ ।
पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रूपमा आउन लागेको यो पुस्तकमा झापा जिल्ला गठन भएयतादेखि हालसम्मका सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक पाटाहरूको ऐतिहासिक विवरण प्रस्तुत गरिएको छ ।
लेखक सिग्देलका अनुसार, १९७२ सालमा मोरङबाट अलग भई झापा जिल्ला बनेपछिको कालखण्डलाई आधार बनाएर पुस्तकमा औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग जोडिएका घटनाहरूलाई जीवित पात्रका बयानसहित प्रस्तुत गरिएको छ ।
यसअघि पूर्वको राजनीति र बिर्तामोड उद्भव र विकास नामक दुई ऐतिहासिक कृति सार्वजनिक गरिसकेका सिग्देलको यो इतिहास विधामा तेस्रो कृति हो । आख्यान र गैर आख्यान दुबै क्षेत्रमा समान रूपमा कलम चलाउँदै आएका उनले जीवनको गति, मनोनेट, मनको कैदी नामक कथासंग्रह, एक दिन समय कथा नामक यात्रा संस्मरण र विर्सिएका सपनाहरू नामक निबन्ध संग्रह पनि प्रकाशित गरिसकेका छन् ।
लेखकले पुस्तकबारे भनेका छन् –
“यो किताब त्यही कालखण्डको कथा हो, पीडाको आवाज हो, जतिबेला नेपालमा राणा शासनको जगजगी थियो र प्रजातन्त्रका लागि मानिसहरू छट्पटाइ रहेका थिए । तराईमा औलो, कालाजार, बिफरको प्रकोप थियो भने पहाडमा भोकमरीको त्रास थियो । पुस्तक त्यही समयको प्रतिविम्ब हो, चित्र हो ।”
तीन दशकदेखि पत्रकारिता र अनुसन्धानमूलक लेखनमा सक्रिय सिग्देलले यस कृतिमा जनजीवन, संघर्ष र भूमी अधिकारका सवालमार्फत् समृद्ध झापाको निर्माण यात्रा चित्रण गरेको निष्कर्ष निकालेका छन् ।
पुस्तकको प्रकाशन मिडिया रिसर्च सेन्टर (एमआरसी बुक्स) ले गरेको हो ।