भदौ २४ को तोडफोड-आगजनीमा सुकुम्बासी र कैदीबन्दी संलग्न : प्रहरी ब्रिफिङ

प्रधानमन्त्री कार्कीको ‘कडा कारबाही’ गर्न निर्देशन

काठमाडौँ । भदौ २४ गते देशभर भएको तोडफोड र आगजनीमा सुकुम्बासी बस्तीका समूह र कैदीबन्दीहरूको उल्लेख्य संलग्नता रहेको प्रहरीले जनाएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार क्षतिग्रस्त प्रहरी संरचनाको निरीक्षण गर्दै संलग्न जो–कोहीलाई कडा कारबाही गर्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले प्रहरी प्रभाग कोटेश्वर र प्रहरी वृत्त महाराजगञ्जको निरीक्षण गर्दै प्रहरीको मनोबल घटेको अवस्था प्रत्यक्ष अवलोकन गरिन्। उनले आन्दोलनमा घाइते भएर ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचाररत बिरामीहरूसमेत भेटिन्।

दुई दिनको आन्दोलनमा प्रहरीले तीन जना आफ्नो सहकर्मी गुमाउनुका साथै कयौं घाइते व्यहोर्नुपरेको छ भने काठमाडौं उपत्यकाका अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड भएको छ।

प्रहरी स्रोतका अनुसार भदौ २४ गते प्रहरीले बल प्रयोग गर्ने आदेश नपाएका कारण संरचनागत ठूलो क्षति भएको हो। भदौ २३ गते संसद भवनतर्फ बढेको आन्दोलनलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा डेढ दर्जन युवाको मृत्यु भएपछि प्रहरीमाथि व्यापक आलोचना भएको थियो। त्यसपछि भोलिपल्ट गोली चलाउने आदेश रोकिएको थियो।

उच्च प्रहरी अधिकारीहरूको उपस्थितिमा गरिएको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले प्रहरीको मनोबल पुनःस्थापना गर्ने प्रतिबद्धता जनाउँदै कडा छानबिनमार्फत दोषीलाई कानूनी कारबाहीमा ल्याउने आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *