राजनीतिक दबाबमा थामिएका मुद्दा अघि बढाउन सीआईबीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आडमा रोकिएका संवेदनशील मुद्दाहरू पुनः अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई स्पष्ट निर्देशन दिएका छन्।

शुक्रबार बिहान सीआईबी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले सीआईबी प्रमुख, अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई कुनै पनि राजनीतिक दबाब वा बाह्य प्रभावमा नपरी निष्पक्ष रूपमा अनुसन्धान गर्न आदेश दिए। “यो सरकारको पहिलो म्यान्डेट सुशासन हो,” उनले जोड दिँदै भने, “कतिपय आर्थिक तथा वित्तीय अपराध र भ्रष्टाचारसम्बन्धी अनुसन्धान राजनीतिक कनेक्सनका कारण अड्किएका छन्, अब त्यस्ता अवरोध फुकाल्नुपर्छ।”

अर्यालका अनुसार, अघिल्ला सरकार र जनप्रतिनिधिहरूले सुशासनमा कमजोरी देखाएका कारण विश्वास गुमेको थियो। “सुशासन नै पहिलो सर्त हो। त्यसमा कुनै अवरोध स्वीकार्य छैन,” उनले स्पष्ट पार्दै रोकिएका मुद्दा पुनः सक्रिय गर्न र नयाँ मुद्दाहरूको छिटो छानबिन गर्न सीआईबीलाई आग्रह गरे।

गृहमन्त्रीको निर्देशनसँगै हालै मात्र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका तत्कालीन एसएसपी डा. मनोज केसी सीआईबी प्रमुखको रूपमा कार्यभार सम्हालिसकेका छन्। सीआईबीको नेतृत्व परिवर्तनसँगै राजनीतिक प्रभावमा रोकिएका मुद्दा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

गृहमन्त्रीको यो कठोर सन्देशलाई सुशासनतर्फको निर्णायक कदमका रूपमा हेरिएको छ, जसले संवेदनशील आर्थिक अपराध र भ्रष्टाचारका फाइलहरू पुनः खुल्ने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *