गुल्मी । गुल्मीमा चाडपर्वको अवसरमा शान्ति र सुरक्षा कायम राख्न प्रहरी प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार गर्दै १६ विभिन्न स्थानमा ३६८ जना प्रहरी परिचालित गरेको छ।
प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार, चोरी, डकैती, ठगी, झगडा, सवारी दुर्घटना, कालोबजारी, खाद्य अभाव तथा पटाकासम्बन्धी घटनालाई न्यूनिकरण गर्न सुरक्षा सतर्कता बढाइएको छ। मठमन्दिर, सार्वजनिक स्थल, बजार र यातायात क्षेत्रमा विशेष निगरानी राखिएको छ।
चाडपर्वका समयमा हुने भीडभाड, यात्रु आवागमन र सम्भावित आपराधिक गतिविधिलाई मध्यनजर गर्दै कमाण्ड पोष्ट, रिजर्भ, क्यूआरटी, मोबाईल र पैदल गस्ती, ट्राफिक, पिकेट र भिआइपि सुरक्षा लगायतका विभिन्न डिउटीहरूमा प्रहरी परिचालन गरिएको छ।
यस्तै, सूचना संकलन, यात्रु सहायता कक्ष, धार्मिक र पर्यटकीय स्थल सुरक्षा, राजमार्ग स्कटिङ र ग्रामीण गस्तीको व्यवस्था पनि गरिएको छ। यसले सर्वसाधारणलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रहरी उपरीक्षक अधिकारीले आम नागरिकलाई अनुरोध गरेका छन् कि चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने काम नगर्नुहोस्। शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्ति वा समूहविरुद्ध तत्काल कारबाही गरिनेछ।