काठमाडौं । सिराहामा भाइ–बुहारीको झगडा छुट्याउन गएका दाजुको खुकुरी प्रहार गरि हत्या भएको छ । गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा २५ वर्षीय श्याम सदाले खुकुरी हानेर ३५ वर्षीय दाइ मोतीराम सदाको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीरामलाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए ।
छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । आरोपी श्यामलााई पक्राउ गरि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।