काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीमाथि बैंकिङ कसुरमा परेको उजुरीका सन्दर्भमा आएका प्रतिक्रिया बाझिएका छन्।
उनले रोल्पाका ठेकेदार धात बुढा मगरलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको थियो। हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो।
मन्त्री समेत भैसकेका र पार्टीका प्रमुख सचेतक समेत रहेका चौधरी र बुढा मगरको सम्बन्ध तथा त्यसमा पनि आर्थिक लेनदेनको विषय आफैंमा स्वार्थ बाझिने विषय हुन्।
यसबाहेक चेकका विषयमा चौधरीले र उनका स्वकीय सचिवले दिएको प्रतिक्रिया पनि बाझिएको छ। यसले बुढा मगरसँग आर्थिक कारोबार रहेको पुष्टि गर्ने आधारलाई सुविधा दिन्छ।
उजुरी दिने रोल्पाका धात बुढा मगर र आफूबीच मामा भाञ्जाको सम्बन्ध रहेको उल्लेख गर्दै उनले आफ्नो कुनै पनि आर्थिक कारोबार नरहेको बताएको विषय सतहमा आएको छ।
यसैगरी चौधरीका स्वकीय सचिव सुदन खनालले भने चौधरीको चेक हराएको दाबी गरेको विषय पनि सतहमा आएको छ।
चौधरीमाथि परेको बैंकिङ कसुरको मुद्दामा थप दुई वटा कसुर थप्ने तयारी भएको छ।
उनको कसुरमा ठगी र जालसाजीको मुद्दा पनि थपिन लागेको हो। यसको गरियो भने चौधरीको राजनीति ध्वस्त हुनेछ।
नेपाल प्रहरीका अनुसार चेकसम्बन्धी जस्तो सुकै कसुर बैंकिङ अपराध हुनेछ। यसबाहेक चेक दिनुको ‘नियत’ समेत अध्ययन गरेर प्रतिवेदन तयार पारिन्छ।
उच्च स्रोतले क्यानडा नेपाललाई जानकारी दिएअनुसार यो मुद्दामा बैंकिङ कसुरको चेक अनादरबाहेक ठगी र जालसाजीको मुद्दा चलाइनेछ।
चौधरीले शहरी विकास मन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी ५ करोड ४० लाख रुपैयाँ बैंकिङ माध्यमबाटै लगेको पनि बताइन्छ।
प्रहरी स्रोतले भन्यो,‘रकम लिएर फिर्ता गर्न खोजेको भनिएको छ। यसकारण चौधरीको बैंकिङ स्टेटमेन्ट पनि निकालेर अनुसन्धान हुन सक्छ। अहिले अध्ययनका क्रममा छ।’