काठमाडौँ । देशमै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज र आवश्यक शैक्षिक पूर्वाधार भए पनि अध्ययनका लागि विदेशिने नेपालीको संख्या झन् बढ्दो छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै मात्र शैक्षिक प्रयोजनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम देश बाहिर गएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा शैक्षिक व्यय रु १४ अर्ब ९६ करोड रहेकोमा यस वर्ष केही कमी देखिए पनि कुल प्रवृत्ति भने उकालो नै छ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि हल्का घटेको छ। समीक्षा अवधिमा भ्रमणतर्फको खर्च २.८ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोडमा पुगेको छ, जसको अघिल्लो वर्ष सोही अवधिमा खर्च रु २२ अर्ब ३२ करोड थियो।
यसै अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोड घाटामा देखिएको छ, जुन गत वर्षको सोही अवधिमा रु १५ अर्ब ६ करोड घाटा थियो। तर, सकारात्मक पक्षमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोडमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आय रु चार अर्ब ७७ करोड मात्र थियो।
शिक्षा र भ्रमण दुवै क्षेत्रमा विदेशी मुद्रा बाहिरिने क्रम जारी रहँदा अर्थशास्त्रीहरूले देशभित्र गुणस्तरीय शिक्षाको विस्तार र पर्यटन पूर्वाधारको उन्नतिको आवश्यकता औंल्याएका छन्।