कुलमान बर्खास्तपछि विद्युत् प्राधिकरणको नाफा डेढ अर्बले घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा उल्लेखनीय रूपमा घटेको छ।

प्राधिकरणका अनुसार सो आर्थिक वर्षमा नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ, जुन २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो। अघिल्लो वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।

कुलमान घिसिङको नेतृत्वमा निरन्तर नाफामा रहँदै आएको प्राधिकरण, उनको बर्खास्तगीपछि ओरालो यात्रामा गएको तथ्यले देखाएको छ।

हाल कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नाफा घट्नुमा जापानी येनमा भएको अधिमूल्यन, प्रशासनिक खर्च वृद्धि र औसत बिजुली बिक्री मूल्यमा कमी प्रमुख कारण हुन्। उनले आगामी वर्षमा भने नाफा वृद्धि हुने दाबी गरेका छन्।

प्राधिकरणका तथ्याङ्कअनुसार २०८१/८२ को अन्त्यसम्म राष्ट्रिय प्रणालीमा जडित विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ९१ मेगावाट पुगेको छ। आन्तरिक खपत १०.७ प्रतिशतले बढेर ११ हजार ३ सय १९ गिगावाट घण्टामा पुगेको छ भने राष्ट्रिय ग्रिड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ।

त्यस्तै, विद्युत् चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ र प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा मात्र कुल ४ सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *