काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक मर्मत चाँडो सम्पन्न गरी केरुङ नाका सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको छलफलमा बोल्दै उनले बाढी, पहिरोले अवरुद्ध भएका सडक चाँडै सञ्चालन ल्याएर रोकिएका सामान नेपाल ल्याउने पहल भइरहेको जानकारी दिए । असार २४ गते हिमताल विस्फोटपछि रसुवास्थित ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाउँदा केरुङ नाका बन्द भएको थियो ।
‘पुलसँगै रसुवागढी सडक निर्माण पनि सम्पन्न गर्नुपर्छ, नत्र नाकामा अड्किएका सामान नेपाल ल्याउन सकिँदैन,’ मन्त्री दाहालले भने । उनले वातावरणमैत्री तथा सुरक्षित सडक निर्माणलाई प्राथमिकता दिइने बताए ।
समितिका सभापति दीपकबहादुर सिंहसहित सांसदहरूले दसैँ–तिहारको मुखमा चीनसँग जोडिएका नाका खोल्नुपर्नेमा जोड दिएका थिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले रोकिएका आवश्यक सामग्री वैकल्पिक माध्यमबाट ल्याउने तयारी भइरहेको जानकारी दिए ।