काठमाडौं । भदौ २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनको क्रममा भाटभटेनी सुपरस्टोरका २० स्टोरमा भएको आगजनी र तोडफोडबाट १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति पुगेको तथ्यांक सार्वजनिक भएको छ। क्षतिको विवरण संकलनपछि यो रकम पुष्टि भएको हो।
बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनीमा परेका छन्। ती स्टोरका भवनदेखि लिएर स्केलेटर, लिफ्ट, फ्रिजलगायत महँगा सामग्रीसम्म जलेर नष्ट भएका छन्। भवनभित्रका सम्पूर्ण सामग्री पूर्णरूपमा आगजनी हुँदा कुनै पनि वस्तु बाँकी नरहेको भाटभटेनीले जनाएको छ।
त्यसका अतिरिक्त नौ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ। ती नौ स्टोरमा आंशिक क्षति पुगेको पनि भाटभटेनीको विवरणमा उल्लेख छ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलेको र बाँकी नौ वटामा आंशिक क्षति पुगेको जानकारी दिएका थिए।
गुरुङका अनुसार कम्पनीमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई बिदा नदिई नियमित तलबसहित पूरै महिनाको दसैं बोनस प्रदान गर्ने तयारी गरिएको छ। उनका भनाइअनुसार सम्पूर्ण क्षति जोड्दा भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति पुगेको हो।
प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पुनः प्रतिवद्धता जनाउँदै पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको आरोप लगाएका थिए।
भाटभटेनीका विवरणअनुसार १२ वटा पूर्णरूपमा जलेका र नौवटा आंशिक क्षति भएका स्टोरमा मात्र ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलेका छन् भने ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाटमा परेका छन्।