काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेपालमा उद्योग स्थापना गर्न नदिन छिमेकी मुलुकले विभिन्न बाधा उत्पन्न गर्ने गरेको आरोप लगाएका छन् ।
उनले नेपालमा ऋणको बोझ, नाकाबन्दी र उद्योगहरूको विकासमा अवरोध सिर्जना गर्न भारतको भूमिका रहेको दाबी गरे । भारतले नेपालमा उद्योगहरूको विस्तार रोक्न विभिन्न कानुन बनाउने र कच्चा पदार्थमा उच्च भन्सार लगाउने गरेको उनको भनाइ छ, जसले रोजगारीको अवसरमा समेत समस्या उत्पन्न गरेको छ ।
“नेपालमा दलित समस्यादेखि ऋणको बोझ, नाकाबन्दी र अपमानको शृङ्खलासम्मका कारण उद्यमको विकास हुन नसकेको हो। भारतले उद्योगहरूको वृद्धि रोक्न कानुनहरू बनाएर र घुसखोरीलाई प्रोत्साहन दिएर प्रपञ्च गरेको छ,” उनले भने ।
महासचिव भूसालले एकीकृत समाजवादीले यी मुद्दाहरूलाई प्रमुखताका साथ उठाएको बताउँदै नेपालको अर्थतन्त्रलाई ‘दलाल पुँजीवादी’ को संज्ञा दिए । उनले बाहिरबाट सामान आयात गरेर अधिक नाफा कमाउने उद्देश्यले दलाल पुँजीवादीहरूले उद्योग स्थापनाको वातावरण बनाउन नदिएको आरोप लगाए ।