मुस्ताङ । हिन्दू र बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा भक्तजनहरूले दानपेटिका र नगद रसिदमार्फत चढाएको भेटीबाट हालसम्म साढे १० करोडभन्दा बढी रकम सङ्कलन भएको छ। नेपाली, भारतीय र अन्य मुलुकका तीर्थयात्रीहरूले चढाएको भेटी मुक्तिनाथ विकास समितिको खातामा जम्मा हुँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालको अध्यक्षतामा बसेको समितिको बैठकले नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सांग्रिला विकास बैंक र माछापुच्छ्रे बैंकमा रहेको रकमको विवरण सार्वजनिक गरेको हो।
समितिले भेटीबाट पुजारी, कर्मचारी र सरसफाइकर्मीको तलबसुविधासहित २१ वटा शीर्षकमा गत वर्ष २२ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ। यसबाहेक मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने, तातोपानी पिउने सुविधा, शौचालय विस्तार, कपडा परिवर्तन स्थल निर्माण जस्ता पूर्वाधारमा पनि रकम विनियोजन गरिएको छ।
भारतीय र तेस्रो मुलुकका भक्तजनले चढाएको विदेशी मुद्रा सुरक्षित राखिएको छ, जसलाई सटही गरेर मूल खातामा जम्मा गर्ने प्रक्रिया जारी छ।
पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीको सुरुवातसँगै भेटी सङ्कलनमा सहजता आएको समितिले जनाएको छ। साथै, एकैपटक ५० हजार तीर्थालुलाई सेवा दिन सकिने संरचना बनाउन पुरातत्व विभागसँग अनुमति मागिएको छ।
मुक्तिनाथमा हरेक वर्ष ७ देखि १० लाख तीर्थयात्री पुग्ने अनुमान छ।