काठमाडौं । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती हुने भएको छ । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारी कर्मचारीको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको हो ।
त्यस्तै, औसत दरबन्दी पनि २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रियाजस्ता कार्यक्रम पनि अब सरकारी हलमै आयोजना गर्ने निर्णय गरिएको छ ।
साथै, चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनाहरूमा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत सम्भार तथा यन्त्र–उपकरण खरिदका लागि रकमान्तर र स्रोतान्तर गर्ने निर्णय पनि बैठकले गरेको छ ।