कालीगण्डकी कोरिडोर : आर्थिक समृद्धिको आधार बन्दै

ठाकुरप्रसाद आचार्य

बेनी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवका रूपमा रहेको कालीगण्डकी कोरिडोर सडक आयोजना अहिले निर्माणाधीन छ । सडक आयोजना निर्माण पूरा भएपछि गण्डकी र लुम्बिनीका करिब २० लाख जनसङ्ख्या सडक सञ्जालसँग जोडिने अनुमान गरिएको छ । अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ तर अपेक्षा गरे अनुसार सडक निर्माणले गति भने लिएको छैन ।

कालीगण्डकी नदीको किनारमा निर्माण हुने यो सडकले तराईदेखि पहाड हुँदै हिमालका बस्तीलाई जोडेकाले आर्थिक समृद्धिको ‘लाइफलाइन’ का रूपमा सरकारले लिइएको छ । सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्थापन गर्न नसक्नु, भौगोलिक अवस्था, प्राकृतिक विपत्, निर्माण व्यवसायीको ढिलासुस्ती र कोरोना महामारीका कारण अपेक्षा अनुसार समयमा नै सडक निर्माण सम्पन्न हुन भने सकेन ।

विसं २०६७ मा सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा छनोट गरी कालीगण्डकी कोरिडोर सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो । सडक विभाग अन्तर्गत उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले कालीगण्डकी कोरिडोरलाई दुई खण्डमा बाँडेर काम अघि बढाएको छ । भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पारवहनमार्गका रूपमा लिइएको कालीगण्डकी कोरिडोरलाई माथिल्लो र तल्लो खण्डमा विभाजन गरिएको छ । माथिल्लो खण्ड (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) २०२ किलोमिटर र तल्लो खण्ड (पूर्वी नवलपुरको गैँडाकोट–राम्दी–मालढुङ्गा) खण्डको २४० किलोमिटर गरी कुल ४४२ किलोमिटर कोरिडोरको दुरी छ । सरकारले २०७३ मङ्सिरमा कोरिडोरको माथिल्लो खण्ड बेनी–जोमसोम–कोरला सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सडक स्तरोन्नति योजना अगाडि बढाएको थियो । यो खण्डको सडक स्तरोन्नतिको काम आर्थिक वर्ष २०७३/७४ देखि थालिएको हो ।

विभिन्न खण्डमा ठेक्का लगाएर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक निर्माण गरिरहेको छ । कोरोना महामारी, पर्याप्त बजेटको अभाव र म्याग्दी खण्डमा प्राकृतिक विपत्, पहिरो र ठेकेदारको ढिलासुस्तीलगायतका कारण सडक निर्माण प्रभावित बन्यो । हालसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकको भौतिक प्रगति ८५ प्रतिशत हासिल भएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार कोरिडोरको माथिल्लो खण्ड (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) मा पर्ने २०२ किलोमिटरमध्ये कालोपत्रे गर्नुपर्ने १०५ किलोमिटरमा अहिलेसम्म ८० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । ९७ किलोमिटर सडक स्तरोन्नतिसहित ग्राभेल गर्नुपर्नेमा ९४ किलोमिटर सडक सम्पन्न भएको छ ।

ठेक्का प्रक्रियामा गएका १९ वटा सडक पुलमध्ये १३ वटा पुल निर्माण सम्पन्न भएका छन् भने आगामी असार मसान्तसम्म थप दुई वटा पुल निर्माण सम्पन्न हुने आयोजनाका सूचना अधिकारी चापागाईंले बताउनुभयो । जोमसोमदेखि मार्फासम्म पाँच किलोमिटर र मालढुङ्गा–बेनी खण्डको फर्सेदेखि बेनीसम्मको करिब छ किलोमिटर सडक कालोपत्रेको काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङको कागबेनीदेखि छुसाङसम्म १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि चालु आवमा नै ठेक्का प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । यस खण्ड अन्तर्गत म्याग्दीको भूगोलमा पर्ने चार वटा ठुला जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न समस्या भएको आयोजनाका सूचना अधिकारी चापागाईंले बताउनुभयो ।

कालीगण्डकी कोरिडोरको तल्लो खण्ड (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले दिएको जानकारी अनुसार २४० किलोमिटर सडकमध्ये अहिलेसम्म १९८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

उहाँका अनुसार कोरिडोरको पर्वत खण्डमा पर्ने कालीगण्डकी लोकमार्गको ५३ किलोमिटरमध्ये अहिलेसम्म ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी २० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । कालीगण्डकी कोरिडोर र लोकमार्ग गरेर २३० किलोमिटर सडक कालोपत्रे भइसकेको उहाँले जानकारी दिनुभयो । असार मसान्तसम्म थप चार किलोमिटर सडक कालोपत्रे हुने चरणमा छ । गत वर्ष ठेक्का लगाएको राम्दी–रानीमहल खण्डको १७ किलोमिटर सडक स्तरोन्नति योजनाको अहिलेसम्म २० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने यसै खण्डमा पर्ने ४२० मिटर सडकको ठेक्का व्यवस्थापन गर्न बाँकी छ ।

कोरिडोरको गुल्मी हर्मीचौरदेखि बागलुङको बलेवा खण्डको ४४.४८ किलोमिटर सडक हालै मात्र कालोपत्रे सम्पन्न भएको छ । निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले तोकिएको समयभन्दा करिब छ महिनाअघि नै निर्माण सम्पन्न गरेको आयोजनाका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।

यसै गरी बलेवादेखि मालढुङ्गा खण्डको १० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम अघि बढिरहेको छ । कमजोर भौगोलिक अवस्था र ठुलठुला पहिराका कारण सडक निर्माण गर्न चुनौती भएको उहाँले बताउनुभयो । यो खण्डमा १२ देखि १४ स्थानमा ठुला पहिरा छन् । पहिरो नियन्त्रण र व्यवस्थापन आयोजनाका लागि मुख्य चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी खत्रीले दिनुभएको जानकारी अनुसार तल्लो खण्डको हालसम्मको भौतिक ७८ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत हासिल भएको छ । सडक पुलबाहेक आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो । यस खण्डमा कुल ५९ वटा सडक पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण सम्पन्न, सात वटा निर्माणाधीन र १७ वटा पुलको ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

सरकारले कालीगण्डकी कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाए पनि पर्याप्त मात्रामा बजेटको व्यवस्थापन गर्न नसक्दा सडक निर्माण प्रभावित हुँदै आएको आयोजना प्रमुख कल्पना अधिकारीले बताउनुभयो । कोरिडोरको तल्लो खण्ड (गैँडाकोट–राम्दी–मालढुङ्गा) मा काम गरेका निर्माण व्यवसायीलाई करिब ७० करोड र माथिल्लो खण्ड (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) ले करिब १५ करोड गरी ८५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक योजना सम्पन्न भएमा आर्थिक र सामाजिक विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यावृद्धि हुने हुँदा यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने आशा गरिएको छ । कोरिडोरले प्रसिद्ध दुई धार्मिक स्थल मुक्तिनाथ र लुम्बिनीलाई जोडेको हुँदा धार्मिक पर्यटनको प्रवर्धनमा टेवा पुग्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *