काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारीविहीन र अनावश्यक खर्च बढाउने टुक्रे योजनालाई तत्काल खारेज गर्ने निर्णय गरेका छन्। सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै उनले आर्थिक अनुशासनलाई प्राथमिकता दिने स्पष्ट संदेश दिएका हुन्।
“पूर्व तयारीविनाका आयोजना अब अघि बढ्दैनन्,” मन्त्री खनालले पत्रकारसँग भने, “फजुल खर्च मूल्याङ्कन गरेर मात्रै काम गर्नेछौँ, तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ।”
उनले अर्थ मन्त्रालय परिसरमा रहेका भत्केका संरचना तत्काल हटाउने निर्देशन पनि दिए। साथै, बजेटबाट टुक्रे आयोजना हटाउने उद्देश्यसहित अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
खनालले विगतमा आयोगमार्फत दिएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउँदै योजनाबद्ध विकासलाई मात्रै प्राथमिकता दिने संकेत दिएका छन्।