बाढीले बगाएको मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका खोल्ने तयारी

काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा आएको भीषण बाढीले बगाएको रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाकाको मितेरी पुल पुनर्निर्माण सम्पन्न भएको छ। चिनियाँ पक्षले पुल निर्माण पूरा भएको औपचारिक जानकारी नेपाल सरकारलाई गराइसकेको छ।

चिनियाँ पक्षले बिहीबार नेपाल सरकारलाई पत्राचार गर्दै पुल उद्घाटनको मिति तय गर्न आग्रह गरेको छ। गत असारमा आएको आकस्मिक बाढीले स्याफ्रुबेँसी–रसुवागढी खण्डका विभिन्न स्थानमा सडक र मितेरी पुल बगाउँदा रसुवागढी नाकाबाट हुने आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। नेपाल–चीनबीच हुने करिब ७० प्रतिशत व्यापारिक गतिविधि यही नाकामार्फत हुने गरेकाले व्यापार लामो समयसम्म प्रभावित बनेको थियो।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भइसकेको पुष्टि गरेका छन्। ‘पुल निर्माण सम्पन्न भएको जानकारी प्राप्त भएको छ,’ उनले भने।

गत असारमा रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सोही समयमा बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा काठमाडौंस्थित चिनियाँ राजदूतसहित रसुवागढी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मितेरी पुल पुनर्निर्माणमा सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए। उक्त आग्रहलाई स्वीकार गर्दै चिनियाँ पक्षले पुनर्निर्माण कार्य सम्पन्न गरेको हो।

असार २३ गतेदेखि सुरु भएको बाढी २४ गते अत्यन्त तीव्र बनेपछि पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका सबै सामानसमेत बगाएको थियो। चिनियाँ पक्षले कात्तिकको अन्तिम साताभित्र पुल निर्माण सम्पन्न गर्ने अनुमान गरे पनि निर्माण कार्य करिब एक महिना ढिला भएको हो।
तिब्बतस्थित ल्हेन्देखोलाबाट आएको बाढी भोटेकोशीमा मिसिँदा ठूलो विनाश भएको थियो।

उक्त बाढीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको थियो। नेपालतर्फ भन्सार यार्डमा लोड गरिएका ९ वटा कन्टेनर डिब्बासहित २५ भन्दा बढी गाडी, करिब ३५ वटा विद्युतीय गाडी (ईभी) र ६ वटा सिनोट्रक समेत बाढीले बगाएको थियो।

मितेरी पुल पुनर्निर्माण सम्पन्न भएसँगै रसुवागढी नाका पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले नेपाल–चीन व्यापारिक गतिविधिलाई पुनः गति दिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *