काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको थियो ।
“इन्डियन आयल कर्पोरेसनबाट सोमबार (१४ सेप्टेम्बर) पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको छ । आसन्न चाडपर्वको अवसर र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको छ,” निगमले भनेको छ ।
निगमका अनुसार, हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।