मन्त्रिपरिषद्को निर्णय : सार्वजनिक वित्त सुधारका लागि एडीबीबाट १४ अर्ब ३८ करोड ऋण स्वीकृत

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन तथा हस्तान्तरण प्रणाली सुदृढ गर्न एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएका हुन्।

बैठकले सिराहाको लहान नगरपालिकास्थित पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता रहेको जग्गा तथा भवन रामकुमार शारदा तथा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय पनि गरेको छ।

त्यस्तै, आगामी पुस १२ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि आठ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

यसैगरी, युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता खरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *