भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर उल्लेख्य आम्दानी गर्दै आएका छन् । परम्परागत पेशाका रूपमा सुरु भएको नाङ्लो बुन्ने कला अहिले होम्ताङवासीको प्रमुख आम्दानीको आधार बनेको छ ।
होम्ताङका अधिकांश घरपरिवार यस पेशामा संलग्न छन् । स्थानीयले बुनेको नाङ्लो ठेकेदारले घरमै आएर खरिद गर्ने प्रचलन रहेको छ । विशेषगरी भदौ, असोज र कात्तिक महिनामा दसैँ, तिहार, छठलगायत पर्वका लागि तराईमा बढी माग हुने भएकाले त्यही बेला उत्पादन पनि उच्च हुने गरेको छ ।
नाङ्लो बुन्ने कार्यमा महिला–पुरुष दुवै सक्रिय छन् । स्थानीय पूजा राईका अनुसार आफ्नै परिवारका सबै सदस्य मिलेर मासिक करिब डेढ सयवटा नाङ्लो बुन्ने गरेका छन् । प्रतिगोटा ११० देखि १२० रुपैयाँमा बिक्री हुने नाङ्लोबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने उँहाको भनाइ छ ।
हतुवागढी–६ का राजेन्द्र राईले साविक लङ्खा, विथारा, लुम्बुवा र सोयागाउँ गरी करिब ४१५ घरपरिवार व्यावसायिक रूपमा नाङ्लो बुन्ने काममा आबद्ध रहेको जानकारी दिनुभयो । उत्पादन भएको नाङ्लो स्थानीय बजारसँगै भारत र पश्चिम नेपालका विभिन्न ठाउँमा पनि पठाइने गरेको उहाँले बताउनुभयो ।
यस पेशाले गाउँघरमा उल्लेख्य आम्दानी मात्र नभई सांस्कृतिक पहिचान पनि जोगाइरहेको स्थानीय व्यवसायी प्रकाश राई बताउनुहुन्छ । उहाँका अनुसार यसलाई थप व्यवसायिक बनाउन र बजार विस्तार गर्न स्थानीय सरकार र राज्यस्तरबाट प्रोत्साहन आवश्यक छ ।
“नाङ्लो बुन्ने हाम्रो परम्परागत पेसा हो, अहिले यसैबाट गाउँमा लाखौं रुपैयाँ भित्रिँदै छ,” उहाँले भन्नुभयो, “यदि सरकारी स्तरबाट योजना र सहयोग आए यसलाई थप ठूला स्तरमा व्यवसायिक बनाउन सकिन्छ ।”
रासस
–