रौतहट । पारदर्शिता र जवाफदेहिताका लागि सरकारले वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। तर रौतहटका धेरै स्थानमा यो प्रणाली लाभग्राहीमैत्री बन्न नसकेको गुनासो तीव्र बन्दै गएको छ।
वृद्धवृद्धा, अपाङ्गता भएका नागरिक तथा अशक्त व्यक्तिहरूका लागि बैंकमा पुग्नै ठूलो चुनौती बनिरहेको छ। दुरगम शाखा, अपाङ्गमैत्री नहुँदो पूर्वाधार, कर्मचारीको असंवेदनशील व्यवहार लगायतका समस्याले लाभग्राहीहरू थप पीडित छन्।
राजदेवी नगरपालिका–३ का ७८ वर्षीय अनुठा राउत, जो पक्षाघातका कारण चल्न सक्दैनन्, त्रैमासिक भत्ता बुझ्न घरबाट तीन किलोमिटर टाढा रहेको नेपाल बैंक लिमिटेडको शाखा पुग्न बाध्य छन्। उनकी बुहारी मञ्जुदेवी भन्छिन्, “लाइनमा घण्टौँ बस्नुपर्छ, झन कर्मचारीहरू सहयोग गर्नुको साटो झर्किने गर्छन्।”
ईशनाथ नगरपालिका–९ का जोबैर मियाँलाई बैंक जान जाँदा दुई जनाको झन्डै ५०० रुपैयाँ सवारी खर्च लाग्ने गरेको छ। “गिरी टोलको दोस्रो तलामा रहेको बैंकमा सिँढी चढेर जान नै सक्दिनँ,” उनी भन्छन्, “तल्लो तलामा भए भत्ता लिन सजिलो हुन्थ्यो।”
८५ वर्षीय सेख लेयाकत (राजपुर नगरपालिका–१) भन्छन्, “गाडी भाडा सरसापट गरेर भत्ता लिन जानुपर्छ, तर बैंकको व्यवहारले घाउ थप्छ।”
चन्द्रनिगाहपुर बजारमा रहेका अधिकांश बैंकहरू अपाङ्ग तथा वृद्धमैत्री छैनन्। सुरक्षा कारण देखाउँदै दोस्रो वा तेस्रो तलामा सञ्चालित शाखाहरू शारीरिक रूपमा असक्त लाभग्राहीका लागि पूर्ण रूपमा अनुपयुक्त छन्।
चन्द्रपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा भन्छन्, “बैंकहरूले विशेष काउन्टर, प्राथमिकता सेवा र आवश्यकता अनुसार घरदैलो सेवा दिनुपर्छ। यसका लागि स्थानीय सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ।”
समस्या समाधानका लागि सुझाव:
-अपाङ्गमैत्री पूर्वाधार अनिवार्य बनाउने
-सामाजिक सुरक्षा काउन्टर छुट्टै राख्ने
-संवेदनशील लाभग्राहीलाई प्राथमिकता सेवा दिने
-स्थानीय तहसँग समन्वय गरी ‘मोबाइल बैंकिङ सेवा’ वा ‘घरदैलो सेवा’ सुरुवात गर्ने
सरकारको सदाशयताले ल्याएको नीति कार्यान्वयनमा कमजोर बनिरहँदा, ‘सामाजिक सुरक्षा’ वास्तवमै सुरक्षित छ कि छैन?’ भन्ने प्रश्न उठिरहेको छ।