काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका कारण देशका विभिन्न ठाउँमा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएका लुटपाट, तोडफोड र आगजनी घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ।
महासंघले ती घटनामा संलग्न व्यक्तिहरूको विरुद्धमा व्यवसायीहरूले दिएको जाहेरीसमेत नलिइएको गुनासो आएको बताउँदै, यसले समाजमा दण्डहीनताको संस्कृति बढाउने र व्यवसायी समुदायमा निराशा फैलाउने चेतावनी दिएको छ।
विज्ञप्तिमार्फत महासंघले भनेको छ, “यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेका छन्। यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ।”
निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समितिहरूमा महासंघका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ। यसबारे औपचारिक रूपमा गृहमन्त्रालयमा पत्राचार गरिएको जनाइएको छ।
महासंघले सरकारसँग सबै तहमा निजी क्षेत्रको समन्वय, विशेष गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसाय सञ्चालनको आधार नै शान्ति र स्थायित्व भएको बताउँदै भने, “शान्ति सुरक्षा नभई स्थायित्व आउँदैन, स्थायित्व नभई उद्यम व्यवसाय चल्दैन, र उद्यम व्यवसाय नचल्दा देशको अर्थतन्त्र संकटमा पर्छ।”
त्यस्तै, महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीका लागि विश्वसनीय वातावरण सिर्जना र आर्थिक गतिविधिलाई दिगो रूपमा अघि बढाउन सरकारको सक्रियता अपरिहार्य भएको बताए।
छलफलमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति तथा विभिन्न समिति र फोरमका सभापतिहरू सहभागी थिए।
