सुनचाँदी व्यवसायमा लाग्ने करबारे प्रमको ध्यानाकर्षण : आजदेखि सुन पसल खुल्ने

काठमाडौँ। सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् ।

भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउनुभएको उहाँले जानकारी दिनुभयो ।

व्यवसायीले विलासिता कर लागु गर्दा सुनचाँदी व्यवसाय धराशायी हुने भएकाले पुनर्विचार गर्न माग गरेका हुन् । विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पनि खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन् । मागका विषयमा प्रधानमन्त्रीको सकारात्मक आश्वासन आएपछि व्यवसायीले बुधबारदेखि सुनचाँदी पसल खुला गर्ने बताएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक हप्ताअघिदेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *