देशको ऋण भार बढ्दै : सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, जीडीपीको ४५ प्रतिशत नजिक

काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ, जसले अब देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को झन्डै ४५ प्रतिशत हिस्सा ओगटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ताजा तथ्यांकले नेपालको ऋण दायित्व लगातार बढ्दो अवस्थामा रहेको स्पष्ट देखाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो । तर आश्विन मसान्तसम्म आइपुग्दा ५० अर्ब ६० करोड थपिँदै कुल ऋण २७ खर्ब २४ अर्ब ६५ करोडमा पुगेको हो ।

अहिलेसम्मको कुल ऋणमध्ये ५३.०९ प्रतिशत वैदेशिक र ४६.९१ प्रतिशत आन्तरिक ऋण रहेको छ । यसरी देशले बाह्य स्रोतमा झन् बढी निर्भरता देखाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर आश्विन मसान्तसम्म मात्र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १६.९३ प्रतिशत मात्रै हो ।

त्यसमध्ये बाह्य ऋण प्राप्तिको प्रगति २४.८६ प्रतिशत र आन्तरिक ऋणको प्रगति ४.६४ प्रतिशत रहेको छ । कुल ऋण प्राप्तिमा आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र बाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको देखिन्छ ।

यस्तै, ऋण सेवा खर्चका लागि चालु आर्थिक वर्षमा ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा अहिलेसम्म १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेटको २६.७४ प्रतिशत हो ।

जीडीपीको हिसाबमा हेर्दा आश्विन मसान्तसम्मको कुल ऋण सेवा खर्च १.८० प्रतिशत पुगेको छ । निरन्तर बढ्दो ऋण र त्यसको सेवा खर्चले आगामी वर्षहरूमा आर्थिक दबाब झन् बढ्ने संकेत देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *