दोस्रो ‘घर निर्माण फेस्ट २०८२’ घोषणा : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा

काठमाडौं । घर निर्माण फाउण्डेसनले दोस्रो संस्करणको ‘घर निर्माण फेस्ट–२०८२’ को घोषणा गरेको छ। पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो फेस्ट नेपालमा निर्माणसम्बन्धी सबैभन्दा ठूलो मेला मानिन्छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत फाउण्डेसनले निर्माण तथा व्यवसायिक क्षेत्र विस्तार हुँदै गए पनि धेरै ब्राण्डहरूले प्रभावकारी उत्पादन प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार तथा प्रतिस्पर्धी ब्रान्डिङमा चुनौती झेल्नुपरेको भन्दै फेस्टमार्फत ती समस्याको समाधान खोजिने जानकारी दियो।

फेस्टले प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीलाई लक्षित ग्राहकसमक्ष प्रभावकारी रूपमा पुग्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

चार दिनसम्म चल्ने यस फेस्टबाट झण्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। त्यस्तै, ४० हजारभन्दा धेरै अवलोकनकर्ताले निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइन प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

फाउण्डेसनका अनुसार यस वर्षको फेस्ट सामान्य मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्चका रूपमा प्रस्तुत हुनेछ।

फेस्टलाई थप आकर्षक बनाउन आयोजकले विशेष तीन आकर्षण समावेश गरेको छ:

पहिलो, विश्वकै सबैभन्दा ठूलो आकारको ‘इट्टा’। फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गराउने तयारी भइरहेको छ। अहिलेको रेकर्ड २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको २.९४ मिटर लम्बाइ र ०.९९ मिटर चौडाइ–उचाइ भएको इट्टाले राखेको छ।

दोस्रो, ‘उल्टो घर’: जहाँ घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले दर्शकलाई अद्वितीय दृश्य अनुभव दिनेछ।

तेस्रो, ‘डोम हाउस’: नेपालमा कम प्रयोगमा आएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट निर्माण गर्न सकिने आयोजकको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *