नेपालमा फेसबुकबाटै आम्दानी गर्ने बाटो खुल्यो : कन्टेन्ट क्रियटरलाई नयाँ अवसर

काठमाडौं । अब नेपालमा पनि फेसबुकमार्फत प्रत्यक्ष आम्दानी गर्ने बाटो खुलेको छ । मेटाले नेपाललाई कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा समावेश गरेसँगै नेपाली प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरले आफ्नो सामग्रीमार्फत आयआर्जन गर्न सक्ने भएका छन् ।

प्रोफेसनल मोडमा रूपान्तरण गरिएको फेसबुक प्रोफाइल वा पेजका सर्जकले अब विज्ञापनसहितका विभिन्न टुल (जस्तैः एड अन रिल्स् र स्टार्स) प्रयोग गरी आम्दानी गर्न सक्नेछन् । कम्पनीले केही प्रयोगकर्तालाई इमेलमार्फत सेवाको सुरुवातबारे जानकारी गराइसकेको छ ।

मनिटाइजेसनअन्तर्गत फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाई आम्दानीको हिस्सा उपलब्ध गराउनेछ । भुक्तानीका लागि नेपाली बैंक खाता र स्थायी लेखा नम्बर (PAN) अनिवार्य हुनेछ । यस निर्णयले नेपाली डिजिटल क्रियटरलाई प्रत्यक्ष आम्दानीको अवसर दिने मात्र होइन, देशमा रेमिट्यान्स र कर राजस्व बढाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसका लागि मेटाले ‘पार्टनर मनिटाइजेसन पोलिसी’ अनुसार कडा नियम लागू गरेको छ । घृणा, हिंसा, गलत जानकारी वा कम्युनिटी स्टान्डर्ड उल्लंघन गर्ने सामग्रीमा प्रतिबन्ध लगाइएको छ भने डुप्लिकेट वा रिपोस्ट कन्टेन्टलाई अस्वीकार गर्ने बताइएको छ । त्यस्तै, भिडियोबाट आयआर्जन गर्न कम्तीमा १५ सेकेन्डको हुनुपर्ने शर्त पनि राखिएको छ ।

अब नेपाली क्रियटरले भिडियो, रिल्स, स्टोरी वा लाइभ स्ट्रिममा आएका विज्ञापन, स्टार र सब्सक्रिप्सनमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्नेछन् । यसले युट्युबझैं फेसबुकमार्फत पनि ‘क्रिएटिभ पेशा’ रोज्न सकिने नयाँ संभावना खोलिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *