काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा करेक्सन भएको छ । पछिल्ला ८ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा आइतबार करेक्सन भएको हो । आइतबार बजार घटेपनि कारोबार रकममा भने उत्साह देखिएको छ ।
आइतबार २६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ प्रतिशतले बढेको हो । बिहीबार १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको थियो । आइतबार एक वर्षयताकै उच्च रकमको कारोबार भएको हो । यसअघि २०८१ साउन २८ गते २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको थियो ।
पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक २५६.८९ अङ्क बढेको छ । सोही मौकामा अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा आइतबार नेप्सेमा करेक्सन भएको हो । नेप्सेले ३००० देखि ३०५० को प्रतिरोध परीक्षण पनि गरेको छ । सोपश्चात नै नेप्सेमा करेक्सन भएको हो ।
आइतबार नेप्से परिसूचक १८.४४ अङ्क घटेर २९६४.२० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अङ्क घटेको छ ।
तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैङ्कको सेयरमूल्यसर्वाधिक ६.३४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम ८५ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको हो । त्यस्तै, विकास बैङ्क र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी बढेको छ । कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक प्रतिशतभन्द बढी घटेको छ ।