तीन महिनामा मेची नाकाबाट १२ अर्बभन्दा बढीको आयात, निर्यात झण्डै २२ प्रतिशतले घट्यो

झापा । पूर्वी व्यापारिक नाका मेची (काँकरभिट्टा) हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ (१३.३१ प्रतिशत) ले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १० अर्ब ८४ करोड ३ लाख रुपैयाँका वस्तु आयात भएका थिए । यस वर्षको तुलनात्मक वृद्धिले पूर्वी नाकाबाट हुने व्यापारमा आयात निर्भरता अझ बढ्दै गएको देखाउँछ ।

तर सोही अवधिमा निर्यात भने घटेको छ । चालु आवको पहिलो त्रैमासमा ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरका वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन्, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँको तुलनामा २१.०८ प्रतिशत कम हो ।

मेची नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट र मोलासिस प्रमुख छन् । यता आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडा रहेका छन् ।

कार्यालयका तथ्याङ्क अनुसार चालु आवको पहिलो त्रैमासमा मेची भन्सारले आयात–निर्यातबाट ४ अर्ब १५ करोड २० लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६९ प्रतिशत (५६ करोड २९ लाख ९७ हजार रुपैयाँ) ले बढी हो ।

पूर्वी नाकाबाट निर्यात घट्दै गए पनि आयात वृद्धि र राजस्व सङ्कलनको दरले नेपाल–भारत सीमास्थित मेची नाकालाई अझ सक्रिय व्यापारिक मार्गका रूपमा उभ्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *