काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी र विकासका प्रशस्त सम्भावना हुँदाहुँदै पनि नकारात्मक भाष्य फैलाइँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँमा आयोजित पर्यटनसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै उनले विशेषगरी विदेशमा बस्ने केही नेपालीहरूले सामाजिक सञ्जालमार्फत नेपालमा केही सम्भावना छैन भन्ने गलत धारणा फैलाइरहेको आरोप लगाए।
अध्यक्ष ढकालले यस्ता नकारात्मक अभिव्यक्तिले देशको आत्मविश्वास र लगानी वातावरणलाई कमजोर बनाउने भन्दै अब यसलाई चिर्नु नै सबैभन्दा ठूलो चुनौती बनेको बताए। नेपालकै आन्तरिक पुँजी परिचालन गरेर पनि ठूला र प्रभावकारी आयोजना सम्भव छन् भन्ने सन्देश दिन महासंघले १० अर्ब रुपैयाँ बराबरको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरेको उनले जानकारी दिए।
उक्त कम्पनीमार्फत स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलताका क्षेत्रमा लगानी गरिनेछ। १० अर्ब रुपैयाँको इक्विटीलाई आधार मानेर ४० देखि ५० अर्ब रुपैयाँसम्मका परियोजना आन्तरिक स्रोतबाटै सञ्चालन गर्न सकिने उनको दाबी छ। कोरोना महामारीपछि नेपालमा आन्तरिक पर्यटन उल्लेखनीय रूपमा विस्तार भएको उल्लेख गर्दै ढकालले यसले आर्थिक गतिविधिलाई नयाँ गति दिएको बताए।
नीतिगत संवादका क्रममा उनले महिला उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक वृद्धिका लागि महासंघले कानुनी तथा नीतिगत सुधारमा सक्रिय पहल गरिरहेको पनि स्पष्ट पारे। पर्यटन क्षेत्रमा होमस्टे, हस्तकला र खाद्य सेवाजस्ता साना तथा मझौला उद्यममार्फत महिलाको योगदान महत्वपूर्ण रहेको विषयमा समेत कार्यक्रममा व्यापक छलफल भएको थियो।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा आयोजित उक्त नीतिगत संवाद कार्यक्रममा दिगो पर्यटन विकास र महिला सहभागिता अभिवृद्धिका उपायहरूबारे गहन बहस गरिएको थियो।
