ट्रम्प–सी वार्ता अघाबै टिकटक विवाद समाधानतर्फ : अमेरिकी स्वामित्वमा लैजाने सहमति

एएफपी । संयुक्त राज्य अमेरिकाले चीनसँग टिकटक सम्बन्धी विवाद समाधानका लागि ‘सैद्धान्तिक ढाँचा’ तयार भएको घोषणा गरेको छ। यसअनुसार चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको चर्चित भिडियो–सेयरिङ एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्ने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा नाम नलिई लेख्दै भने, “हाम्रो देशका युवाहरू बचाउन चाहने एउटा कम्पनीसँग सम्झौता भएको छ। तिनीहरू धेरै खुसी हुनेछन्।” उनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग थप कुराकानी गर्ने बताए।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले स्पेनको म्याड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको दोस्रो दिनको वार्तापछि पत्रकारहरूसँग भने, “हामीसँग टिकटक सम्झौताका लागि एउटा खाका तयार भएको छ, जसले एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सञ्चालन गर्न मार्ग प्रशस्त गर्नेछ।” तर उनले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरे।

रिपब्लिकन पार्टीको २०२४ को चुनाव अभियानमा सामाजिक सञ्जालको ठुलो प्रभाव रहेकाले ट्रम्पले अघिल्लो प्रतिबन्धको अडान उल्टाउँदै टिकटकको ‘सुरक्षा’ गर्ने वाचा गरेका थिए। उनका अनुसार भिडियो सेयरिङ एपका लागि ९० दिनको म्याद बुधवार सकिँदै छ।

चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनलाई आपसी सम्मान र समान परामर्शका आधारमा समस्याको समाधान गर्न आग्रह गरेको छ। म्याड्रिड वार्तामा दुवै पक्षले व्यापार तनाव कम गर्ने र प्रतिशोधात्मक करलाई घटाउने सम्भावनाबारे पनि छलफल गरेका छन्।

यसअघि दुई देशबीचको व्यापार युद्धका कारण कर वृद्धि तीन अंकमा पुगेको थियो। चीन दुर्लभ खनिजको अग्रणी उत्पादक भएकाले आपूर्ति शृङ्खला अवरुद्ध हुन पुगेको वासिङ्टनले आरोप लगाउँदै आएको छ।

अब ट्रम्प–सीबीचको आगामी वार्तापछि टिकटक सम्झौताको अन्तिम रूपरेखा तय हुने अपेक्षा गरिएको छ, जसले विश्वभर करिब दुई अर्ब प्रयोगकर्ताहरू रहेको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा लैजाने मार्ग प्रशस्त गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *