काठमाडौं । अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । नांगरहार प्रान्तको जलालाबाद नजिकै ६ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
भूकम्प राति ११:४७ बजे जलालाबाददेखि १७ किलोमिटर उत्तरपूर्वमा केन्द्रित भएको थियो । यसले अफगानिस्तान मात्र नभई पाकिस्तानसम्म धक्का महसुस गराएको थियो । काबुल (२ सय किलोमिटर टाढा) र पाकिस्तानको इस्लामाबाद (४ सय किलोमिटर टाढा) सम्म कम्पन पुगेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
६ म्याग्नेच्युडको मुख्य कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका तीनवटा पराकम्पहरू गएको र मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
स्थानीय अधिकारीका अनुसार भूकम्पसँगै आएको बाढी र पहिरोले सडक अवरुद्ध भएका छन् । कमजोर संरचनाका घरहरू भत्किँदा ठूलो क्षति पुगेको छ ।
तालिबान सरकारले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगको अपील गर्दै हेलिकप्टर र आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।