ब्रासिलिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न सहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन् ।
प्रदर्शनकारीहरूले ‘संप्रभुता सम्झौताको विषय होइन’ भन्ने शान्तिपूर्ण नारासहित ब्राजिलस्थित अमेरिकी दूतावास तथा प्रमुख सहरहरूमा रहेका अमेरिकी वाणिज्य दूतावासहरू अगाडि भेला भई आफ्नो असन्तोष व्यक्त गरेका छन् । उनीहरूले भन्सारलाई राजनीतिक दबाबको उपकरणका रूपमा प्रयोग गर्दै ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरिएको आरोप लगाएका छन् ।
बुधवार, अमेरिकी सरकारले ब्राजिलबाट अमेरिका निर्यात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय सार्वजनिक गरेको थियो । यसका साथै, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्द्र डि मोराइसमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। न्यायाधीश डि मोराइस हाल पूर्व राष्ट्रपति जाएर बोल्सोनारोविरुद्धको मुद्दाको निगरानी गरिरहनु भएका छन् । उक्त मुद्दामा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति निर्वाचनमा पराजयपछि सत्ता हात पार्न खोजेको आरोप लागेको छ ।
यस निर्णयपश्चात् राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी नीतिको स्पष्ट विरोध जनाउँदै यसलाई ब्राजिलको आन्तरिक मामिलामा अवाञ्छित हस्तक्षेपको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले राष्ट्रिय हित र न्यायिक प्रक्रियाको सम्मान गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
राष्ट्रपति लुलाले भने, ‘हाम्रो देशको निर्णय प्रक्रिया पूर्ण रूपमा स्वाधीन र संवैधानिक हो। ब्राजिल कुनै पनि प्रकारको बाह्य दबाब वा प्रभावमा चल्न सक्दैन । ‘