अमेरिकी दबाबबीच चीनका शीर्ष कूटनीतिज्ञ वाङको भारत भ्रमण, मोदीसँग भेट हुने सम्भावना

नयाँदिल्ली । अमेरिकाको कडा दबाब र व्यापारिक करको चुनौतीबीच चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी सोमबार भारत पुगेका छन्। लामो समयदेखि तनावपूर्ण बनेको सम्बन्धलाई सुधार गर्ने उद्देश्यसहित उनको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग वाङले औपचारिक वार्ता गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यसै महिना प्रधानमन्त्री मोदीले चीन भ्रमण गर्ने सम्भावनाबारे छलफल भइरहेको छ।

विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत भारत–चीन विशेष प्रतिनिधिबीच दुई दिनभित्र हुने छलफलमा द्विपक्षीय सम्बन्ध र सीमा व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ।

भारत र चीन, जो दक्षिण एसियामा प्रभाव जमाउन प्रतिस्पर्धीका रूपमा रहेका छन्, सन् २०२० को सीमा विवादपछि सम्बन्ध चिसिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न भूराजनीतिक दबाबले दुबै देशलाई सम्बन्ध नजिक्याउन प्रेरित गरेको विश्लेषण छ।

वाङको भ्रमणमा हिमालय सीमामा व्यापार पुनः सुरु गर्ने, सीधा उडान पुनः सञ्चालन गर्ने र पर्यटक भिसा पुनः जारी गर्ने विषय उच्च प्राथमिकतामा हुने बताइएको छ।

भारत हाल अमेरिका, अष्ट्रेलिया र जापानसँगको क्वाड सुरक्षा गठबन्धनमा सक्रिय भए पनि, वासिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। अमेरिकाले भारतलाई रुसी तेलको आयात रोक्न अल्टिमेटम दिएको छ। रोक नलगाए २५ प्रतिशत आयात शुल्क बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनीसमेत दिएको छ।

यसबीच, प्रधानमन्त्री मोदीले गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भारत निरन्तर आह्वान गरिरहेको बताएका थिए। पुटिनले भने अलास्कामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको वार्ताको विषयमा जानकारी गराएका थिए।

अमेरिकी व्यापार सल्लाहकार पिटर नाभारोले भारतलाई रुसी तेल ‘क्लियरिङ हाउस’को रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै, २७ अगस्टदेखि लागू हुने नयाँ ५० प्रतिशत करले भारतलाई गम्भीर असर गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *