चीनद्वारा नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफल प्रक्षेपण

एजेन्सी । चीनले आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३:२८ बजे सम्पन्न भएको चीनको समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण तथा जलवायु परिवर्तनको निगरानी गर्नु हो। उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइयो र निर्धारित कक्षमा सफलतापूर्वक स्थापना भएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जानकारी दिएको छ।

यस भू–उपग्रहमा क्यामेरा र इमेजर सहित टाढाबाट अवलोकन गर्ने नौवटा यन्त्र जडान गरिएको छ। सीएनएसएका अनुसार यस प्रक्षेपणले चीनको मौसम पूर्वानुमान क्षमता, जलवायु परिवर्तनमा तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण सम्बन्धी क्षमता थप सुदृढ बनाउनेछ।

यो प्रक्षेपण लङ्ग मार्च शृङ्खलाको ५९६औं सफल मिसन बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *