थाइल्याण्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं प्रदर्शनकारी सडकमा

एएफपी बैंकक। थाइल्यान्डको राजधानी बैंककमा शनिबार हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै र्‍याली निकालेका छन्।

प्रधानमन्त्री पेतोङ्गतार्न सिनावात्राको एक कूटनीतिक फोन कल ‘लिक’ भएपछि आक्रोशित उनीहरु राजीनामा माग गर्दै सडकमा उत्रिएका हुन्।

दुई देशबिचको सीमा विवादलाई सुल्झाउने उद्देश्यले गरिएको उक्त फोन कलमा पेतोङ्गतार्नले कम्बोडियाका नेतालाई ‘अङ्कल’ भनेकी थिइन् भने एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेकी थिइन्। यो कल कम्बोडियाका ती नेताले नै ‘लिक’ गरेका थिए।

यसपछि, ३८ वर्षीया वंशवादी प्रधानमन्त्रीले कम्बोडियासामु घुँडा टेकेको र थाई सेनाको अपमान गरेको आरोप लगाउँदै एक प्रमुख पार्टीले उनको गठबन्धन छाडेको छ। जस कारण उनको सरकार झिनो बहुमतमा टिकेको छ।

राजधानीको भिक्ट्री मोनुमेन्ट वरपरका सडकहरूमा करिब १० हजार प्रदर्शनकारीहरू भेला भएका थिए। उनीहरूले थाई झण्डा र ‘दुष्ट प्रधानमन्त्री, बाहिर निस्क’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। एकजना वक्ताले मञ्चबाट ‘प्रधानमन्त्री, तिमीले देशद्रोह गर्‍यौ !’ भनेर नारा लगाए।

प्रदर्शनमा अधिकांश ज्येष्ठ नागरिकहरू थिए। प्रदर्शनको नेतृत्व सन् २००० को दशकमा पेतोङ्गतार्नका पिता थाक्सिनलाई पदच्युत गर्न मद्दत गर्ने ‘यल्लो सर्ट’ आन्दोलनका पुराना कार्यकर्ताहरूले गरेका थिए।

‘म थाइल्यान्डको सार्वभौमसत्ताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य छिन् भन्न यहाँ आएको हुँ,’ देशको उत्तरी भागबाट रातभर बस चढेर आएका ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङ्मुले भने। ‘लिक भएको कल सुनेपछि मैले उनलाई विश्वास गर्न सकिनँ। उनले हाम्रो सार्वभौमसत्ता त्याग्न तयार छिन्।’

थाइल्याण्डले दशकौंदेखि राजतन्त्र र सेनाको रक्षा गर्ने ‘यल्लो सर्ट’ र थाक्सिन समर्थक ‘रेड सर्ट’ बीचको चर्को द्वन्द्व देखेको छ।

सन् २०२१ पछि थाइल्याण्डमा ठूला प्रदर्शनहरू भएका थिएनन्। त्यसबेला राजतन्त्र सुधारको माग गर्ने युवा-नेतृत्वको आन्दोलनका धेरै नेताहरूलाई देशको कडा राजद्रोह कानुन अन्तर्गत दोषी ठहर गरिएको थियो।

अधिकारीहरूका अनुसार, शनिबारको प्रदर्शनमा १,००० भन्दा बढी प्रहरी र १०० नगर अधिकारीहरू तैनाथ गरिएको थियो र प्रदर्शन शान्तिपूर्ण रहेको थियो।

प्रधानमन्त्री पेतोङ्गतार्नले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार रहेको बताइन्। तर, उनी र उनका पिता थाक्सिन दुवैले अर्को हप्ता कानुनी लडाइँको सामना गर्दैछन्, जसले थाइल्यान्डको राजनीतिक परिदृश्यलाई नै बदल्न सक्छ।

मंगलबार, संवैधानिक अदालतले पेतोङ्गतार्नलाई पदबाट हटाउन सिनेटरहरूले दिएको निवेदन स्वीकार गर्ने वा नगर्ने निर्णय गर्नेछ। सोही दिन, उनका पिता थाक्सिनमाथि एक दशक पुरानो शाही अपमानको मुद्दामा सुनुवाइ हुँदैछ।

पेतोङ्गतार्नले एक वर्षभन्दा कम समयअघि मात्र पदभार ग्रहण गरेकी थिइन्। उनी आफ्ना पिता, फुपू र फुपाजु पछि प्रधानमन्त्री बन्ने सिनावात्रा परिवारकी चौथो व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *