काठमाडौं। भारत र अमेरिकाबीच नयाँ १० वर्षे रक्षा रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौता दुवै देशबीच सैन्य सहकार्य, प्राविधिक आदानप्रदान र रक्षा उद्योग सुदृढीकरणमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
अक्टोबर ३१ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न आसियान रक्षा मन्त्रीहरूको बैठकका क्रममा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र अमेरिकी रक्षा सचिव पिट हेगसेथले सम्झौतामा हस्ताक्षर गरे। यसले भारत–अमेरिका सम्बन्धमा नयाँ रणनीतिक युगको सुरुवात गरेको मानिएको छ।
सम्झौता अनुसार, अमेरिका भारतसँग उन्नत प्रविधि साझा गर्नेछ, जसअन्तर्गत कृत्रिम बुद्धिमत्तामा आधारित (एआई) हतियार, अत्याधुनिक ड्रोन र रक्षा प्रविधिमा संयुक्त अनुसन्धान र विकास गरिनेछ। यो पहलले दुई देशका सेनाबीच आपसी तालिम, अभ्यास र रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने बताइएको छ।
सम्झौताका प्रमुख पक्षहरू अनुसार अब दुवै देशका सेनाबीच नियमित संयुक्त अभ्यास हुने, हतियार र रक्षा उपकरण संयुक्त रूपमा विकास गरिने, सुरक्षा एजेन्सीहरूले जानकारी आदानप्रदान गर्ने र अमेरिकाले भारतलाई केही उन्नत प्रविधि उपलब्ध गराउनेछन्।
सम्झौता हस्ताक्षरपछि अमेरिकी रक्षा सचिव हेगसेथले भने, “यो १० वर्षे रक्षा समझदारीले भारत–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ। समन्वय, सूचना आदानप्रदान र प्रविधि सहकार्यको नयाँ युग सुरु भएको छ।”
त्यस्तै भारतीय रक्षा मन्त्री राजनाथ सिंहले यो सम्झौताले भारत र आसियान देशहरूबीचको सुरक्षा सम्बन्धलाई पनि थप बलियो बनाउने उल्लेख गरे।
सम्झौता त्यस्तो समयमा भएको हो जब भारत र अमेरिका बीच व्यापार सम्बन्धका विषयमा वार्ता चलिरहेको छ। अमेरिकाले हालै भारतद्वारा रूसी तेल खरिदमा ५० प्रतिशतसम्म कर वृद्धि गरेको थियो।
यसअघि भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि क्वालालम्पुरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरी भारत–अमेरिका सम्बन्ध र विश्वव्यापी रणनीतिक मुद्दामा छलफल गरेका थिए। यो नयाँ सम्झौताले इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलनमा नयाँ गतिशीलता ल्याउने अनुमान गरिएको छ।
