एजेन्सी । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले देशको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्।
राष्ट्रको प्रशासनिक निरन्तरता कायम राख्न र सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न भेनेजुएलाको सर्वोच्च अदालतले रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको हो। अदालतको उक्त निर्णयपछि उनले तत्कालै कार्यभार सम्हालेकी हुन्।
अमेरिकाले शनिबार भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि देशको राजनीतिक अवस्था तीव्र रूपमा बदलिएको छ। यस परिस्थितिमा राज्य सञ्चालनमा शून्यता नआओस् भन्ने उद्देश्यले कार्यकारी नेतृत्वको जिम्मेवारी रोड्रिगेजलाई सुम्पिएको जनाइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार गठन नहुन्जेलसम्म अमेरिका नै त्यहाँको शासन व्यवस्थामा निर्णायक भूमिकामा रहने दाबी गरेका छन्। ट्रम्पको उक्त अभिव्यक्तिले भेनेजुएलाको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको विषयमा विश्वव्यापी बहस थप चर्किएको छ।
भेनेजुएलामा विकसित यस घटनाक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ भने देशभित्र र बाहिर व्यापक प्रतिक्रिया आउन थालेको छ।
