रुसी यात्रुवाहक विमान दुर्घटना , सबैको मृत्यु

मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा बिहीबार करिब ५० यात्रु सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ । सोभियत निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान घना जङ्गलमा खसेको थियो ।

रुसी सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको छ । सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताका अनुसार घटनास्थलमा कोही पनि जीवित रहेको सङ्केत भेटिएको छैन ।

अङ्गारा एयरलाइन्सको उक्त विमान ब्लागोभेश्चेन्स्कबाट टिन्डा शहरतर्फ जाँदै थियो । स्थानीय समयअनुसार दिउँसो १ बजे विमानको राडारसँग सम्पर्क टुटेको थियो।उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट १५ किलोमिटर दक्षिणमा रहेको जङ्गली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला पारेको थियो ।

रुसी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा धुवाँसहित विमानका टुक्राहरू जङ्गलमा छरिएको देखिन्छ । सरकारी समाचार संस्था तासका अनुसार उद्धार टोली घटनास्थलमा केही घण्टापछि पुगेको थियो, तर त्यहाँ कोही जीवित भेटिएन ।

दुर्घटनाको कारणबारे अनुसन्धानकर्ताहरूले जानकारी दिएका छैनन् । अङ्गारा एयरलाइन्सका प्रमुख कार्यकारी सेर्गेई सलामनोभले रुसी टेलिभिजन आरईएनलाई बताएअनुसार घटनाको समयमा मौसम प्रतिकूल थियो । तर, विमानचालकले उडानको निर्णय गरेका थिए । टिन्डा शहर, जहाँ करिब ३०,००० मानिस बस्छन्, चिनियाँ सीमाबाट २०० किलोमिटर टाढा घना ताइगा जङ्गलमा अवस्थित छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार विमानमा कम्तीमा एक चिनियाँ नागरिक सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *