ट्रम्पको ५०% ट्यारिफपछि भारतमा अमेरिकी ब्रान्ड बहिष्कारको लहर: ‘मेड इन इन्डिया’ अभियान तिव्र

काठमाडौं । म्याकडोनाल्ड्स, कोका–कोला, अमेजन र एप्पलजस्ता अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू भारतमा बहिष्कारको चपेटामा परेका छन् । व्यवसायी र प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरूले अमेरिकी आयातमा ५० प्रतिशत ट्यारिफ लगाउने डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध आक्रोश व्यक्त गर्दै अमेरिकी सामानको बहिष्कार र स्वदेशी उत्पादनको प्रयोग बढाउन आह्वान गरिरहेका छन् ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारत अमेरिकी ब्रान्डहरूको प्रमुख बजार हो । यी कम्पनीहरूले धनी र मध्यम वर्गका उपभोक्ताहरूलाई लक्ष्य गर्दै तीव्र विस्तार गरेका थिए । मेटाको ह्वाट्सएपको सबैभन्दा ठूलो प्रयोगकर्ता भारतमै छन् भने डोमिनोजको यहाँ अरू कुनै देशभन्दा बढी शाखा छन् । पेप्सी र कोका–कोला जस्ता पेय पदार्थहरू बजारमा हावी छन्, र एप्पल स्टोर वा स्टारबक्समा छुट पाउँदा लामबद्ध हुने संस्कार पनि प्रचलित छ ।

यद्यपि बिक्रीमा तत्काल असर नदेखिए पनि, सामाजिक सञ्जालमा ‘मेड इन इन्डिया’ अभियान र अमेरिकी उत्पादन त्याग्ने अभियान तीव्र बनेको रोयटर्सले जनाएको छ । यसले निर्यातकर्तालाई हल्लाएको र भारत–अमेरिका सम्बन्धमा तनाव थपेको बताइन्छ ।

वाउ स्किन साइन्सका सह–संस्थापक मनीष चौधरीले किसान र स्टार्टअपलाई समर्थन गर्न आग्रह गर्दै “दक्षिण कोरियाले जस्तो विश्वव्यापी ख्याति पाउने उत्पादन बनाऔँ” भने । ड्राइभयूका सीईओ रहम शास्त्रीले भारतले आफ्नै ट्विटर, गुगल, युट्युब, ह्वाट्सएप र फेसबुकजस्ता प्लेटफर्म विकास गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले बेंगलुरुमा आयोजित भेलामा आत्मनिर्भर भारतका लागि ‘विशेष आह्वान’ गर्दै भारतीय आवश्यकतालाई प्राथमिकता दिन समय आएको बताए । उनले कुनै कम्पनीको नाम भने लिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *