मोरक्कोमापनि “जेनजी विद्रोह” : विश्वकप तयारीबीच सडकमा युवा, सरकार संकटमा

काठमाडौं। सन् २०३० को विश्वकप आयोजना तयारीका नाममा अरबौँ डलर खर्च गरेको भन्दै मोरक्कोका युवाहरू सडकमा उत्रिएपछि देश राजनीतिक संकटमा परेको छ। पाँच दिनदेखि जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार दबाबमा परेको छ।

“स्टेडियम होइन, अस्पताल चाहिन्छ” भन्ने नारा उचाल्दै युवाहरूले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्।

विरोधको कारण

सरकारले विश्वकपका लागि ठूला स्टेडियम निर्माणमा ध्यान दिएको तर शिक्षा र स्वास्थ्यमा आवश्यक बजेट नपुगेको असन्तुष्टिले आन्दोलनलाई भड्काएको हो। हालै अगाडिरस्थित एक सरकारी अस्पतालमा उपचार नपाएर आठ महिलाको मृत्यु भएपछि असन्तोष झनै तीव्र भएको छ।

सरकार संकटमा

प्रदर्शन सुरु भएको पाँच दिनसम्म मौन बस्ने सरकारले बुधबारदेखि मात्रै सुरक्षा बल उतारी दमन सुरु गरेको छ। गृहमन्त्रालयका अनुसार हालसम्म ४०९ जना पक्राउ परेका छन् भने २६३ जना सुरक्षा अधिकारी घाइते भएका छन्। देशभरि १४२ वटा सरकारी सवारीसाधन र २० वटा निजी कारमा क्षति पुगेको छ।

युवा पुस्ताको आक्रोश

टिकटक र डिस्कोर्डमार्फत सुरु भएको यो आन्दोलन कुनै राजनीतिक दलको नभई साधारण युवाहरूको नेतृत्वमा अघि बढेको छ। यही कारण यसलाई “मोरक्कोको जेनजी आन्दोलन” भनिएको छ। महँगी, बेरोजगारी र व्यापक भ्रष्टाचारप्रति युवाहरूको असन्तोष यसमा मिसिएको छ।

हिंसात्मक रुप

राजधानी रबातसहित प्रमुख शहरहरूमा आन्दोलन हिंसात्मक बन्दै गएको छ। कार, पसल र बैंकमा आगजनी भएको छ। मानव अधिकार संघहरूले वार्ता नगरी गिरफ्तारी र दमनमार्फत मात्र सरकार अघि बढे आन्दोलन झन् चर्किने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *