अनिल पाण्डेय
चीनमा नदीहरू र विभिन्न तालहरूको रूपान्तरण भइरहेको छ। यस योजनाअन्तर्गत पानीको गुणस्तर सुधारसँगै नदी संरक्षणमा विशेष ध्यान दिइँदैछ। यसै उद्देश्यका साथ केन्द्र सरकारले जल स्रोत मन्त्रालयमार्फत एक महत्वाकांक्षी अभियान सञ्चालन गरिरहेको छ, जसको लक्ष्य सन् २०२७ सम्म प्राप्त गर्ने तय गरिएको छ। यो अवधिमा नदीहरूलाई सफा, सुन्दर बनाउनासाथै जलीय पारिस्थितिकी प्रणालीको गुणस्तरमा पनि सुधार ल्याउने लक्ष्य राखिएको छ।
ध्यान दिनुपर्ने कुरा के छ भने, चीनमा पहेलो नदी (Yellow River) र याङ्त्से नदी (Yangtze River) जस्ता विशाल नदीहरू बगिरहेका छन्, जसलाई चीनको ‘आमाको नदी’ भनेर भावनात्मक रूपमा सम्बोधन गरिन्छ। हजारौं किलोमिटर दूरी पार गर्दै बग्ने यी नदीहरू चिनियाँ जनताको जीवनसँग गहिरो सम्बन्ध राख्छन्। त्यसैले यिनको संरक्षण र सौन्दर्य जोगाइराख्न चीन सरकार निकै गम्भीर छ।
यसबाहेक, चीनले नदी र तालहरूलाई पर्यटन केन्द्रको रूपमा पनि विकास गरिरहेको छ। सरकार निरन्तर यिनको संरक्षणमा केन्द्रित हुँदै जल पारिस्थितिकी संरक्षणमा पनि ध्यान दिइरहेको छ।
यस सन्दर्भमा चीनले केही समयअघि नदी र तालहरूको अवस्था सुधार्ने र तिनीहरूको सौन्दर्य बढाउने उद्देश्यसहित एक कार्ययोजना सार्वजनिक गरेको थियो। उक्त योजनाले जलीय पारिस्थितिकी प्रणालीको गुणस्तर सुधारमा जोड दिएको छ, जसले देखाउँछ कि चीन जल स्रोत सुधारप्रति प्रतिबद्ध छ। नदीको पानी स्वच्छ हुँदा र पारिस्थितिकी प्रणाली सुधारिँदा देश र संसारकै जल वातावरणमा सकारात्मक प्रभाव पर्छ भन्ने बुझाइ चीनको नीतिमा झल्किएको छ।
चीन, ठूलो जनसंख्या र विशाल भूगोल भएको मुलुकका रूपमा, आफ्नो दायित्व वहन गर्नमा अग्रसर छ। जल स्रोत प्रशस्त भएको चीनमा तिनको उचित प्रयोग अपरिहार्य छ। यसैले चीनले सन् २०३० भित्र ‘सुन्दर नदी-ताल’ बनाउने उल्लेखनीय प्रगति गर्ने र सन् २०३५ भित्र उक्त अभियान पूर्ण गर्ने लक्ष्य लिएको छ।
विशेषज्ञहरू भन्छन्— नदीलाई सुन्दर बनाउनका लागि स्थिर जलस्रोत, राम्रो प्रवाह, र पर्याप्त पारिस्थितिक जल चाहिन्छ। त्यसका लागि निरन्तर बहने नदीहरूको प्रवाह सुनिश्चित गर्नुपर्छ। चीन यस क्षेत्रमा राम्रो कार्य गर्दै आएको छ।
यही क्रममा चीनले नदी संरक्षण, व्यवस्थापन, पारिस्थितिकी सुधार, र जल-संरक्षणमैत्री समाज निर्माणका लागि थप उपायहरू कार्यान्वयनमा ल्याउने घोषणा गरिसकेको छ।
चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदको महासचिवालयद्वारा यस सम्बन्धमा मार्गनिर्देशन जारी गरिएको छ, जसमा सन् २०३५ सम्म बाढी रोकथाम क्षमता, जल स्रोतको प्रभावकारी उपयोग, शहरी तथा ग्रामीण क्षेत्रमा भरपर्दो पानी आपूर्ति, र समग्र नदी पारिस्थितिकी प्रणालीमा महत्वपूर्ण सुधार गर्ने लक्ष्य राखिएको छ।
चीनले जल स्रोत र पारिस्थितिकी संरक्षणका क्षेत्रमा गरिरहेका यी प्रयासहरू भारतजस्ता देशका लागि सिक्ने विषय हुन्। किनकि भारतमा नदी र तालहरूको पानीको गुणस्तर गम्भीर चिन्ताको विषय बन्दै गएको छ। आशा गरिन्छ, चीनको अनुभव अन्य देशहरूलाई पनि उपयोगी हुनेछ। CRI