नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध सुदृढ गर्न जोड

हङकङ । नेपालका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा मन्त्री राणाले ‘मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर’ समारोहमा पर्यवेक्षक राष्ट्रको रूपमा सहभागिता जनाएको अवसरमा यो औपचारिक भेट भएको हो ।

उक्त भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासोका विषयहरू र दुवै देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा विस्तृत छलफल भएको थियो ।

मन्त्री राणाले नेपाल–चीन सम्बन्धलाई नेपालले सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै चीन सरकार र जनताले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । उनले आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण र प्रत्यक्ष वैदेशिक लगानीलगायत क्षेत्रमा चीनको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् । साथै, नेपाल एक–चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्‍याइन् ।

भेटका क्रममा मन्त्री राणाले हालै सम्पन्न ‘सगरमाथा संवाद’मा चिनियाँ सहभागिताले द्विपक्षीय सम्बन्ध थप बलियो बनाएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताहरूलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई विशेष बनाउन मन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिइन् । उनले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिएको उल्लेख गर्दै यस अवसरमा थप चिनियाँ पर्यटक नेपाल भित्र्याउन तयार रहेको बताइन् ।

जवाफमा, विदेशमन्त्री वाङले ‘सगरमाथा संवाद’को सफल आयोजनाका लागि नेपाललाई बधाई दिँदै वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा चीन नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताए । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा नेपालले सक्रियता देखाउनुपर्नेमा जोड दिए । साथै, उनले मन्त्री राणाको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *