चीनका राष्ट्रपति सी चिनफिङको संदेश : “बाह्य दबाबमा होइन, आफ्नै लक्ष्यमा केन्द्रित होऊ”

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले देशले बाह्य चुनौतीभन्दा आन्तरिक लक्ष्य र जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। आगामी पाँच वर्षीय योजना (सन् २०२६–२०३०) तयार गर्ने क्रममा उनले चीनले रणनीतिक पहल आफ्नै हातमा लिनुपर्ने स्पष्ट सन्देश दिएका हुन्।

राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाका अनुसार सीले गत अगस्टमा बेइजिङस्थित झोङ्गनानहाईमा आयोजित गोष्ठीमा यस्तो धारणा व्यक्त गरेका थिए। उक्त गोष्ठीको विवरण कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो पूर्णबैठक सकिएको भोलिपल्ट सार्वजनिक गरिएको हो।

राष्ट्रपति सीले भने, “बाह्य वातावरण जस्तोसुकै बदलियोस्, चीनले आफ्नो मार्ग, लक्ष्य र जिम्मेवारीमा दृढ रहनुपर्छ।”

उनले देशलाई अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म विश्लेषण गर्न, त्यसबाट आवश्यक सिकाइ लिन र स्वदेशी शक्तिका माध्यमबाट विकासलाई अघि बढाउन निर्देशन दिए।

२०२६–२०३० को नयाँ पाँच वर्षीय योजना : निर्णायक मोड

सन् २०२६ देखि २०३० सम्म लागू हुने यो योजना चीनका लागि आर्थिक र राजनीतिक दृष्टिले अत्यन्तै निर्णायक मानिएको छ। यस अवधिमा चीनले अमेरिकी व्यापार युद्ध, प्रविधिक प्रतिस्पर्धा, आन्तरिक मागको कमजोरी र वृद्ध जनसंख्या जस्ता चुनौतीबीच अर्थतन्त्र सुदृढ गर्नुपर्नेछ।

सीले भनेका छन्, “आगामी पाँच वर्ष चीनलाई २०३५ सम्म समाजवादी आधुनिकीकरणको लक्ष्य नजिक पुर्‍याउने महत्वपूर्ण चरण हुनेछ।”

उनले उच्च गुणस्तरको विकासका लागि प्रमुख क्षेत्रहरूमा सुधार, कमजोरी हटाउने र बलियो पक्षलाई थप मजबुत पार्ने आव्हान गरे।

प्रविधिमा आत्मनिर्भरता र मौलिक नवप्रवर्तनमा जोड

सी चिनफिङले विज्ञान र प्रविधिलाई राष्ट्रको रणनीतिक मेरुदण्डका रूपमा परिभाषित गर्दै मौलिक अनुसन्धानमा आत्मनिर्भर बन्न आह्वान गरे।
उनले भने, “उच्चस्तरीय प्रविधिक आत्मनिर्भरता र नवप्रवर्तन नै चीनको गुणस्तरीय विकासको आधारशिला हो।”

उनका अनुसार चीनले आविष्कार, अनुसन्धान र मुख्य प्रविधि क्षेत्रमा ठूला उपलब्धि हासिल गर्न निरन्तर लगानी गर्नुपर्नेछ।

जनजीविका र क्षेत्रीय विकासमा ठोस सुधारको निर्देशन

राष्ट्रपति सीले आर्थिक विकाससँगै जनजीविकामा सुधार ल्याउन जोड दिँदै रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, वृद्ध हेरचाह र सामाजिक सुरक्षामा प्रत्यक्ष परिणाम देखिने नीति अवलम्बन गर्न निर्देशन दिएका छन्।

त्यस्तै, उनले गरिबी निवारण र गाउँ पुनर्जीवन अभियानका सफलतामा आधारित क्षेत्रीय सन्तुलित विकासलाई सुदृढ गर्न आग्रह गरे।

गोष्ठीमा अन्य दलका नेताहरू, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र विज्ञहरूले पनि सुझाव दिएका थिए।
ती सुझावहरूमा घरेलु माग विस्तार, निजी क्षेत्रको उच्च गुणस्तरीय विकास, नवप्रवर्तन, औद्योगिक र उपभोग सञ्जालको समन्वय, समुद्री सुरक्षा, खाद्य र ऊर्जामा आत्मनिर्भरता, र ताइवानसँगको सम्बन्ध सुदृढीकरणजस्ता विषय समेटिएका थिए।

राष्ट्रपति सीको सन्देशले चीनले बाह्य दबाब र प्रतिस्पर्धाभन्दा पनि स्वदेशी शक्तिको उपयोगमार्फत स्थायित्व र समाजवादी आधुनिकीकरणतर्फको यात्रामा दृढताका साथ अघि बढ्ने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *