फिलिपिन्समा भ्रष्टाचारविरुद्ध जेन-जी सहित ६० हजार बढी नागरिक सडकमा उत्रिए

काठमाडौं । फिलिपिन्सको राजधानी मनिला आइतबार भ्रष्टाचारविरुद्ध अभूतपूर्व जनआन्दोलनले उथलपुथल भयो। बाढी नियन्त्रण परियोजनामा व्यापक अनियमितताको विरोधमा करिब ६१ हजारभन्दा बढी नागरिक सडकमा उत्रिएपछि शहरको मुख्य सडकहरू प्रदर्शनमय बने।

प्रहरीका अनुसार झडपका क्रममा कम्तीमा ३९ अधिकारी घाइते भए भने २० नाबालिगसहित ७२ जनालाई पक्राउ गरिएको छ। प्रदर्शनकारीहरूले ट्रेलरमा आगजनी गरी प्रहरी ब्यारिकेड तोड्ने प्रयास पनि गरेका थिए। स्थिति नियन्त्रणमा लिन हजारौँ सुरक्षाकर्मी र सेना तैनाथ गरिएको छ।

ऐतिहासिक मनिला पार्कदेखि इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरिसम्म फैलिएको प्रदर्शनलाई अमेरिकी र अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई टाढा रहन सुझाएका छन्। फिलिपिन्सको झण्डा बोकेर ‘अब धेरै भयो, दोषीलाई जेलमा हाल’ भन्ने नारासहितको ब्यानर उचाल्दै भीडले तत्काल कारबाहीको माग गरिरहेको थियो।

विद्यार्थी नेतृ अल्थिया ट्रिनिडाडले सरकारले गरिबीको पीडामा रहेका जनतालाई करको पैसा लुटेको आरोप लगाउँदै, “हामी गरिबीमा डुबिरहेका छौँ, तर उनीहरूले हाम्रो करबाट लक्जरी कार र विदेश यात्रामा मोज गर्छन्,” भन्दै प्रणालीगत भ्रष्टाचार अन्त्य गर्न आह्वान गरिन्।

फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले शान्तिपूर्ण आन्दोलनको आग्रह गर्दै “हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतन्त्रलाई बलियो बनाउनु हो,” भने।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रदर्शनमा देखिएको जनआक्रोशलाई स्वीकार गर्दै हिंसाको निन्दा गरे। उनले प्रहरीलाई अधिकतम सहिष्णुता अपनाउन निर्देशन दिएर “म पनि क्रोधित छु, भ्रष्टाचार अस्वीकार्य छ,” भने।

मार्कोसले यसअघि वार्षिक राष्ट्र सम्बोधनमा बाढी नियन्त्रण परियोजनामा ५ खर्ब ४५ अर्ब पेसो (करिब ९ अर्ब ५० करोड अमेरिकी डलर) बराबरको अनियमितता भएको खुलासा गरेका थिए। सन् २०२२ पछि सुरु भएका करिब ९,८५५ परियोजनामध्ये धेरैमा अनियमितता देखिएको र स्वतन्त्र आयोगले अनुसन्धान गरिरहेको उनले जनाएका थिए।

यही घोटालाको प्रभाव स्वरूप निर्माण मन्त्रीको राजीनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालयका अनुसार यो घोटालाले २०२३–२०२५ बीचमा मात्रै करिब ११८.५ अर्ब पेसो (२ अर्ब अमेरिकी डलर) क्षति पुर्‍याएको छ, जबकि ग्रीनपीसले यसको मूल्य करिब १८ अर्ब डलरसम्म हुने दाबी गरेको छ।

जनआक्रोश झनै बढाउने अर्को कारण धनी दम्पती सारा र प्यासिफो डिस्कायाको दर्जनौँ लक्जरी कार र एसयूभीको सार्वजनिक प्रदर्शन बनेको छ। सिनेट सुनुवाइमा दम्पतीले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो कमिसन तिर्न बाध्य पारिएको खुलासा गरेका थिए।

अनुसन्धानको घेरामा दुई प्रमुख सिनेटरसमेत तानिँदा राजनीतिक उथलपुथल चर्किएको छ। दुवै सदनका शीर्ष नेताहरू—सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेज—ले राजीनामा दिएका छन्।

भ्रष्टाचारमा संलग्न कम्तीमा तीन इन्जिनियर तत्काल बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू सबैमाथि आपराधिक मुद्दा दर्ता गरिनुका साथै सम्पत्ति, बैंक खाता र सवारीसाधन फ्रिज गरिएको सरकारी एजेन्सीहरूले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *