प्रधानमन्त्री ओलीको आग्रह: हिमनदी पग्लिन नदिन विश्व साझेदारी आवश्यक

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विशेषगरी हिमनदी पग्लिन नदिन संयुक्त रूपमा पहल गर्न आग्रह गरेका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूमा जलवायु परिवर्तनले पार्ने प्रभावसम्बन्धी एक साइड इभेन्टलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्रको संरक्षणका लागि विश्वभरबाट ठोस र सामूहिक कदम चालिनुपर्ने बताए।

“हिमालका आवाजहरू पग्लने बरफमुनि मरेर नजाउन्,” प्रधानमन्त्री ओलीले भने, “हिमालयको रक्षाका लागि नेपाल सहकार्य, नेतृत्व र साझेदारी गर्न तयार छ। हाम्रो कदमले जलवायु न्यायतर्फ विश्व समुदायलाई प्रेरित गरोस्।”

उनले हिमालयलाई अर्बौं मानिसहरूको जीवन र जीविकोपार्जनको स्रोत, राष्ट्रिय गौरव, तथा वर्तमान र भविष्यको पहिचान भएको उल्लेख गर्दै यो केवल नेपालको चिन्ताको विषय नभई सम्पूर्ण मानव सभ्यताका लागि चुनौती भएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपालजस्ता मुलुकमा जलवायुजन्य विपद्को जोखिम बढिरहेको उल्लेख गरे। “हामी हिमनदी ताल फुटेर आउने बाढीको विनाश सिधै भोगिसकेका छौं,” उनले भने, “नेपाल–चीनको रसुवागढी नाकामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍यायो। यस्ता विपद् दोहोरिन सक्छन्।”

उनका अनुसार जलवायु परिवर्तनका कारण नेपालमा कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधता संकटमा छन्, र यी असरहरू राष्ट्रिय सीमाभन्दा पर फैलिनसक्ने भएकाले विश्वव्यापी साझेदारी अपरिहार्य छ।

“नेपाल हिमालय जोगाउन दृढ छ, तर यसका लागि कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूको समेत गम्भीर प्रतिबद्धता आवश्यक छ,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *