सी जिनपिङको शक्ति प्रदर्शन: चीनको उदय र अमेरिका–युरोपप्रति चुनौती

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका शीर्ष नेताहरूलाई एउटै मञ्चमा उभ्याएर चीनले अमेरिका र पश्चिमी मुलुकहरूलाई तरङ्गित बनाएको छ । त्यसैबीच, सैन्य शक्ति प्रदर्शन गरेर राष्ट्रपति सी जिनपिङले अझै ठुलो सन्देश पठाएका छन् ।

८०औँ वार्षिकोत्सव र भव्य परेड

दोस्रो विश्वयुद्धमा जापानमाथि विजय प्राप्त गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा चीनले ऐतिहासिक सैन्य परेड आयोजना गर्यो । कार्यक्रममा २६ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख सहभागी थिए भने विश्वभरबाट करिब ५० हजार पाहुना निम्त्याइएका थिए ।

यस विशेष परेडमा प्रधानमन्त्री केपी शर्मा ओली, रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनसहितका अतिथिहरू सहभागी भए । चीन, रुस र उत्तर कोरियाका शीर्ष नेताहरू पहिलोपटक एउटै मञ्चमा देखिनु विश्वकै ध्यानाकर्षणको विषय बन्यो ।

सन् १९४९ मा पहिलो सैन्य परेड आयोजना गरेको चीनले यसपटक भने विशेष तयारीका साथ आयोजना गर्यो । सन् २०२५ को परेडमार्फत चीनले अमेरिकी विरोधी गठबन्धन — चीन, रुस, उत्तर कोरिया र इरानबीचको एकता देखाउने प्रयास गरेको छ । साथै, एशिया र मध्यपूर्वका नेताहरूलाई भेला गरेर आफ्नो बढ्दो वैश्विक प्रभावको सन्देश दिएको छ ।

चिनियाँ अधिकारीहरूले परेडमा प्रदर्शित हतियारबारे प्राविधिक विवरण सार्वजनिक नगरे पनि ती सबै चीनमै बनेको स्पष्ट पारेका छन् । कार्यक्रममा एक सयभन्दा बढी अत्याधुनिक हतियार प्रणाली प्रदर्शन गरियो, जसमा हाइपरसोनिक मिसाइल, मानवरहित पनडुब्बी ड्रोन र अत्याधुनिक फाइटर जेटहरू प्रमुख आकर्षण बने ।

चार नयाँ क्षेप्यास्त्र (वाईजे–१५, वाईजे–१७, वाईजे–१९ र वाईजे–२०) पहिलोपटक सार्वजनिक गरिए, जसले ठूला युद्धपोतहरूलाई नष्ट गर्न सक्ने क्षमता राख्छन् । त्यस्तै, दुई सिटे जे–२०एस फाइटर जेट, जे–३५ए, एच–६जे बमवर्षक र ‘क्यारिअर किलर’ वाईजे–१९ हाइपरसोनिक मिसाइलले सबैको ध्यान खिचे ।

‘गुआम किलर’ भनेर चिनिने डीएफ–२६डी ब्यालिस्टिक मिसाइल, सीजे–१००० हाइपरसोनिक क्रुज मिसाइल, र हवाइ प्रतिरक्षा प्रणाली (एचक्यू–२०, एचक्यू–२२ए, एचक्यू–९, एचक्यू–१९, एचक्यू–२९) पनि परेडमा प्रदर्शन गरियो । साथै, पीएचएल–१६ रकेट लन्चर, ९९बी ब्याटल ट्याङ्क, र विभिन्न ड्रोनहरू (जीजे–११, एफएज–९७, एजेएक्स–००२) पनि देखाइएका थिए ।

सीको सन्देश

यो परेडमार्फत चीनले आफ्नो सैन्य र प्रविधिगत प्रगति मात्र होइन, वैश्विक नेतृत्वमा दावी गर्न सक्ने क्षमता पनि देखाएको हो । सम्बोधनका क्रममा राष्ट्रपति सीले संसार युद्ध र शान्तिको दोबाटोमा रहेको उल्लेख गर्दै चीनको उदयलाई कसैले रोक्न नसक्ने दाबी गरे । उनले मानवताको शान्तिपूर्ण विकासले अन्ततः विजय हासिल गर्ने विश्वास पनि व्यक्त गरे ।

ट्रम्पको आपत्ति र रूसको जवाफ

चीनले शक्ति प्रदर्शन गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाए । उनले राष्ट्रपति सीले रूसका पुटिन र उत्तर कोरियाका किमसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले लेखे — ‘भ्लादिमिर पुटिन र किम जोङ–उनलाई मेरो अभिवादन पु¥याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ ।’

ट्रम्पको उक्त आरोपबारे रूसी पक्षले प्रतिक्रिया दियो । राष्ट्रपति पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले रोयटर्ससँग भने — ‘बेइजिङमा अमेरिकाविरुद्ध कुनै षड्यन्त्र भइरहेको छैन, कुनै योजना बनेको छैन।’ उनले ट्रम्पले गम्भीरतापूर्वक नभई व्यङ्ग्यात्मक शैलीमा भनेको हुन सक्ने टिप्पणी गरे ।

विश्वलाई दिएको संकेत

ट्रम्प ‘अमेरिका फस्र्ट’को नारासहित अमेरिकी वर्चस्वलाई जोड दिइरहँदा, सी जिनपिङ भने ‘वैश्विक शासन’को अवधारणा अघि सारिरहेका छन् । बेइजिङमा भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति पुटिनसँगै उभिनु पश्चिमी शक्तिहरूविरुद्धको सामूहिक प्रतिरोधको संकेत मानिएको छ ।

विश्वका शक्तिशाली मानिने तीन नेताहरू — सी, पुटिन र किम — परेड स्थलमा अघिल्लो पंक्तिमा सँगै हिँड्नु आफैंमा एक प्रतीकात्मक संदेश थियो । विश्लेषकहरूका अनुसार यसरी उनीहरूले अमेरिकासहित आफ्ना प्रतिस्पर्धी राष्ट्रहरूलाई आफूहरू एकताबद्ध भएको देखाउन खोजेका हुन् ।

चीनको उदयको घोषणा

राष्ट्रपति सीले सैन्य शक्ति मात्र नभई राजनीतिक हैसियतमा पनि चीन अब विश्व नेतृत्व गर्न सक्षम भएको प्रष्ट सन्देश दिएका छन् । एससीओ सम्मेलनका क्रममा २६ राष्ट्रप्रमुखलाई एउटै परेड मञ्चमा उभ्याएर उनले चीनलाई उदाउँदो विश्व नेतृत्वको रुपमा प्रस्तुत गरे ।

यो परेडमार्फत चीनले स्पष्ट सन्देश दिएको छ — शक्ति, प्रभाव र रणनीतिक हैसियतमा अब आफू कुनै पनि मुलुकभन्दा पछि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *