भारतको लद्दाखमा जेनजी आन्दोलनको उग्ररुप: बीजेपी कार्यालयमा आगजनी, चारको मृत्यु

काठमाडौं । भारतको केन्द्रशासित प्रदेश लद्दाख बुधबार जेनजी आन्दोलनको हिंसात्मक रुपले ज्वालामुखी बनेको छ। पूर्ण राज्यको माग र संविधानको छैटौँ अनुसूचीमा समावेशको अभियानले लेह सहरमा ठूलो तनाव सिर्जना गर्दै भारतीय जनता पार्टी (बीजेपी)को प्रदेश कार्यालयलाई समेत आगोको लप्कामा पारेको हो।

पर्यावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकको समर्थनमा विगत दुई सातादेखि जारी भोकहडतालले बुधबार ठूलो जनसङ्ख्यालाई सडकमा ल्यायो। विरोध प्रदर्शनकै क्रममा केही युवाले लेह हिल काउन्सिल भवनमा ढुंगामुढा गर्दै आक्रोश पोख्दा अवस्था नियन्त्रणबाहिर पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेपछि प्रदर्शन हिंसामा परिणत भएको पीटीआईको उद्धरणसहित समाचार एजेन्सीहरूले जनाएका छन्। केही भिडियोमा लेहको मुख्य बजार क्षेत्रमा सवारीसाधन जलेको र भीषण झडप देखिएको छ।

बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसीसँगको फोनवार्तामा आफ्नो पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गर्दै अहिले पनि स्थिति तनावपूर्ण रहेको जानकारी दिएका छन्। हिंसात्मक झडपमा कम्तीमा चारजनाको ज्यान गएको र करिब ३० जना घाइते भएको प्रारम्भिक विवरण आएको छ।

स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासनले लेहमा पाँच जनाभन्दा बढीको भेला प्रतिबन्धित गर्दै पूर्व अनुमति बिना कुनै र्‍याली, जुलुस वा मार्च नगर्न आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *