राप्ती नगरपालिकाले एकैपटक हटायाे ७४ कर्मचारी : कारण यस्तो

चितवन । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारी हटाएको छ । नगरपालिकाका जनप्रतिनिधिबीच विवादका कारण नागरिकको सेवामा प्रभावित भएको भन्दै नगरपालिकाले ७४ जना कर्मचारी हटाएको हो ।

नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै सोमबारदेखि नै लागू हुनेगरी दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई आकस्मिक सूचना जारी गरेर विदा दिएको छ ।

यसरी हटाइएका कर्मचारीहरूमा भण्डारा अस्पतालका तीनजना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात् आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो ।

नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ ।

ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको जनाइएको छ ।
समितिको संयोजक नगरप्रमुख शमेसेर लामा रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रजा सदस्य रहेका छन् ।

नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *