काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बढ्दो चिसोका कारण बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै अत्यधिक चिसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चिसो मौसमले यी समूहहरूमा स्वास्थ्य जोखिम उच्च हुने उल्लेख गर्दै चिसोबाट बच्ने उपायहरू अपनाउन सबैलाई सचेत गराएको छ । चिसोका कारण देखिन सक्ने समस्या न्यून गर्न धुवाँ–धुलोबाट जोगिन, न्यानो कपडा लगाउन, पोषणयुक्त सन्तुलित आहार लिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
त्यसैगरी भिटामिन ‘सी’ पर्याप्त मात्रामा हुने मौसमअनुसारका ताजा फलफूल तथा सागपात सेवन गर्न, प्रशस्त झोल पदार्थ खान र शरीरलाई न्यानो राख्न पनि मन्त्रालयले सुझाव दिएको छ ।
मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम सामान्यभन्दा कम हुँदा विभिन्न क्षेत्रमा शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातजस्ता अवस्थाले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ । यसका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीतांग (हाइपोथर्मिया) का बिरामीहरूको संख्या बढ्ने गरेको जनाइएको छ ।
पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दै गएको वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत महत्वपूर्ण अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाउने गरेको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले चिसोका कारण देखिने स्वास्थ्य समस्या लामो समयसम्म रहे वा अवस्था गम्भीर बन्दै गएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । साथै आगो तथा ताप्ने उपकरण सुरक्षित र खुला स्थानमा मात्र प्रयोग गर्न, प्रयोगपछि निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्नसमेत सबैलाई सचेत गराइएको छ ।
