अमेरिकाबाट थप ३७ नेपाली नागरिक निस्कासन : बुधबार नेपाल पठाउँदै

काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन्। अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार नेपाल पठाउने तयारी गरेको छ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी का अनुसार, ओम्नी एयरको ‘उडान नम्बर एन८२८एएक्स’ बाट उनीहरू नेपाल आउँदैछन्।

विमानस्थलमा अवतरण भएलगत्तै अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गए र दलालबाट ठगिएका हुन् कि भनी सोधपुछ तथा परामर्श गरिनेछ।

प्रहरीका अनुसार, निष्कासनमा परेका केही व्यक्ति अवैध मार्गबाट अमेरिका पुगेका थिए र बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। उनीहरूलाई मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *