काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट कम्तीमा ९ नेपालीसहित २३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश निर्माण मजदुर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालस्थित कुवेत दूतावासका अनुसार विषाक्त मदिरा सेवनपछि ३५ नेपाली बिरामी परेका छन्। तीमध्ये केहीको अवस्था गम्भीर छ भने केहीको अवस्था सामान्य छ। मृतक र बिरामीको वास्तविक विवरण संकलन भइरहेको दूतावासले जनाएको छ।
दूतावासका कर्मचारीका अनुसार, तीन दिनको अवधिमा ९ नेपालीको मृत्यु भएको भए पनि मेडिकल रिपोर्ट नआएसम्म मृत्युको कारण पुष्टि गर्न नसकिने बताइएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार, मेथानोलयुक्त मदिराका कारण नौजना नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाले ज्यान गुमाएका छन्। हाल बिरामीहरूको उपचार आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा भइरहेको छ।
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भए पनि लुकिछिपी उत्पादन र अवैधानिक बिक्री हुने गरेको छ। विषाक्त मदिराको स्रोत पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।
दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन कुवेतमा रहेका नेपालीहरूलाई आग्रह गरेको छ।